बारा, असोज ११-बाराको पचरौता नगरपालिका–८ बाजोपटीमा मोटर जडान गरिएको धाराबाट पानी पिउने क्रममा करेन्ट लाग्दा २५ वर्षीय युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा महागढीमाई नगरपालिका–८ बेतौनाका हकबुला देवानका छोरा राजु देवान रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शनिबार साँझ करिब ६ बजे उनी साथी दुर्गा प्रसाद यादवको घरमा पुगेका थिए। सोही क्रममा मोटर जडान गरिएको धाराबाट पानी पिउँदै गर्दा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका थिए।
करेन्ट लागेर घाइते भएका देवानलाई दुर्गा प्रसादका भाइ बालेश्वर यादवले एम्बुलेन्समार्फत उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्याएका थिए। अस्पतालमा चिकित्सकले ईसिजी परीक्षण गरेपछि साँझ ६ः४५ बजे उनलाई मृत घोषणा गरेका थिए।
घटनाको खबर पाएपछि अस्थायी प्रहरी पोष्ट लंगडा चौक र इलाका प्रहरी कार्यालय बारागढीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी सहायक निरीक्षक बहादुर बस्नेत र प्रहरी निरीक्षक सबिनकुमार कार्कीको नेतृत्वमा पुगेको टोलीले घटनास्थलको मुचुल्का तयार गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार मृतकको शव प्रादेशिक अस्पताल कलैयाको शवगृहमा राखिएको थियो। आइतबार पोस्टमार्टमपछि मृतकका दाइ इजहारुल देवानले शव बुझेर लगेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मोटर जडित धाराबाट पानी पिउँदा बारामा युवकको ज्यान गयो
Leave a Comment
Leave a Comment

