१९ पुस,काठमाडौं । आगामी फागुन २१ गते तोकिएको निर्वाचनमा सहभागी नहुने घोषणा गर्दै छ वटा कम्युनिस्ट पार्टीले चुनाव बहिष्कार गर्ने निर्णय गरेका छन् । कुपोन्डोलमा बसेको संयुक्त बैठकबाट ती दलहरूले निर्वाचन प्रक्रियालाई अस्वीकार गर्दै हालको सरकार विघटन र नयाँ राजनीतिक संरचना निर्माणको माग अघि सारेका हुन् ।
निर्वाचन बहिष्कार गर्ने निर्णयमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल, नेकपा (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल, नेपाल कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी तथा समाजवादी कम्युनिस्ट पार्टी नेपाल सहभागी छन् ।
संयुक्त बैठकपछि जारी विज्ञप्तिमा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गराउन लागेको निर्वाचनलाई ‘जनविरोधी र अलोकतान्त्रिक’ करार गरिएको छ । विज्ञप्तिमा वर्तमान सरकारलाई ‘कठपुतली’ को संज्ञा दिँदै तत्काल बर्खास्त गर्नुपर्ने माग गरिएको छ ।
दलहरूले विद्यमान सत्ता संरचना अस्वीकार गर्दै ‘स्वाधीन संयुक्त जनसरकार’ गठन र ‘जनसंविधान’ निर्माणका लागि संयुक्त संघर्ष अघि बढाउने घोषणा गरेका छन् । उनीहरूले अहिलेको राजनीतिक प्रक्रिया जनताको अपेक्षा र हितविपरीत रहेको दाबी गरेका छन् ।
६ कम्युनिस्ट दलको यो निर्णयले आगामी निर्वाचनको राजनीतिक वातावरण थप ध्रुवीकृत हुने संकेत देखिएको छ । सरकार र निर्वाचन आयोगले यस विषयमा कस्तो प्रतिक्रिया जनाउने भन्नेबारे भने औपचारिक धारणा सार्वजनिक भइसकेको छैन ।

