भोजपुरमा निर्वाचन सुरक्षा टोली बोकेको सेनाको बस दुर्घटना, २४ घाइते

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

गम्भीर ८ सैनिकलाई सेनाको हेलिकप्टरमार्फत काठमाडौँ रिफर; अरूको जिल्ला अस्पतालमै उपचार

भोजपुर, फागुन ६ — पूर्वी पहाडी जिल्ला भोजपुरमा निर्वाचन सुरक्षा तयारीका लागि खटिएको नेपाली सेना बोकेको बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन्। भोजपुर नगरपालिका–३ स्थित सेतीबगर नजिक बुधबार बिहान ना ४ ख ७३१७ नम्बरको बस सडकबाट तल खसेको हो।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायब उपरीक्षक राजु लामाका अनुसार बसमा २४ सैनिक र चालक–सहचालक गरी २६ जना सवार थिए। घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर भएकाले नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँ पठाइएको छ। अन्य घाइतेहरूको उपचार जिल्ला अस्पताल भोजपुरमा भइरहेको प्रहरीले जनाएको छ।

नेपाली सेनाका अनुसार टेम्केमैयुङ गाउँपालिकातर्फ निर्वाचन सुरक्षा तयारीका लागि नयाँ श्रीनाथ गण भोजपुरबाट गएको टोली दुर्घटनामा परेको हो। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Leave a Comment