थर परिवर्तन गरी कागजात किर्ते गरेको दाबी; भद्रकालीमा जाहेरी दर्ता
काठमाडौं, फागुन ६ — काठमाडौं महानगरपालिकाका पूर्वमेयर (बालेन) विरुद्ध नागरिकता विवरणमा अनधिकृत परिवर्तन गरेको आरोप लगाउँदै प्रहरीमा औपचारिक उजुरी परेको छ। जिल्ला प्रहरी परिसर भद्रकालीमा दर्ता भएको जाहेरीमा उनले आफ्नो थर ‘साह’ बाट ‘शाह’ बनाउँदै सरकारी अभिलेखमा किर्ते गरेको दाबी गरिएको छ।
जाहेरीकर्ताका अनुसार बालेनले पुर्ख्यौली पहिचान लुकाउने उद्देश्यले नागरिकताको विवरण फेरबदल गरेका हुन्। उजुरीमा बुबा र दाइको नागरिकता, बसाइँसराइसम्बन्धी कागजात तथा पछिल्लो नागरिकताको प्रतिलिपिमा थर फरक–फरक देखिएको उल्लेख गरिएको छ।
प्राप्त विवरणअनुसार उनले २०६३ पुस ६ गते जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट पहिलो नागरिकता लिएका थिए। त्यसपछि काठमाडौं महानगरको प्रमुख निर्वाचित भएपछि २०७९ असार १९ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकताको प्रतिलिपि लिँदा थर परिवर्तन गरिएको आरोप जाहेरीमा उल्लेख छ।
प्रहरी स्रोतका अनुसार उजुरी दर्ता भएसँगै कागजातको प्रमाणीकरण, अभिलेख मिलान र कानुनी अवस्था सम्बन्धमा प्रारम्भिक अध्ययन सुरु गरिएको छ। आरोपबारे वा बालेन पक्षबाट आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।

