काठमाडौँ, कात्तिक ७-बडादसैँको अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन गरेर सवारीसाधन चलाउने एक हजार ३७ जना चालक कारबाहीमा परेका छन्। ट्राफिक प्रहरीले घटस्थापनादेखि कात्तिक ७ गतेसम्म १४ दिनको अवधिमा गरेको जाँचका क्रममा उनीहरूलाई कारबाही गरेको हो।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने एक हजार दुई जना र लागुपदार्थ सेवन (लापसे) गरेर सवारी चलाउने ३५ जना चालक कारबाहीमा परेका हुन्।
कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार मापसे गरी सवारी चलाउनेमध्ये ५९ जना सार्वजनिक सवारीसाधनका चालक रहेका छन्। त्यस्तै, लापसे गरेर सवारी चलाएको आरोपमा कारबाहीमा परेका ३५ जना नै सार्वजनिक सवारीसाधनका चालक रहेको उनले जानकारी दिएका छन्।
चाडपर्वका समयमा यात्रुको आवागमन बढ्ने र सडकमा निजी तथा सार्वजनिक सवारीसाधनको चाप बढ्ने भएकाले मापसे र लापसे गरेर सवारी चलाउँदा दुर्घटनाको जोखिमसमेत बढ्ने ट्राफिक प्रहरीको भनाइ छ। चालकको लापरबाहीले यात्रु तथा अन्य सडक प्रयोगकर्ताको ज्यान जोखिममा पर्न सक्ने भएकाले प्रहरीले यस्ता गतिविधिमाथि निगरानी बढाएको जनाएको छ।
सडक दुर्घटना न्यूनीकरण गर्ने र यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्ने उद्देश्यले उपत्यकाका विभिन्न स्थानमा ट्राफिक जाँच तथा निगरानीलाई तीव्र पारिएको कार्यालयले जनाएको छ। मादक पदार्थ वा लागुपदार्थ सेवन गरेर सवारी चलाउने चालकलाई कानुनी दायरामा ल्याउने अभियानलाई निरन्तरता दिइएको प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले बताएका छन्।
नेपालमा मादक पदार्थ वा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउन कानुनले निषेध गरेको छ। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ लगायत प्रचलित कानुनी व्यवस्थाअनुसार नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गरिन्छ।
ट्राफिक प्रहरीले चाडपर्वका समयमा सवारी चलाउँदा मादक पदार्थ तथा लागुपदार्थ सेवन नगर्न, ट्राफिक नियमको पूर्ण पालना गर्न र यात्रुको सुरक्षालाई पहिलो प्राथमिकता दिन सबै चालकलाई आग्रह गरेको छ।

