प्रधानमन्त्री बालेनले उद्घाटन गर्ने एनपीएल आजदेखि, ‘नेपाली क्रिकेट अमर रहोस्’ भन्दै दिए शुभकामना

पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, ९ कात्तिक। प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण उद्घाटन गर्ने भएका छन्।

आजदेखि सुरु हुने प्रतियोगितालाई नेपालको ठूलो खेलकुद उत्सवका रूपमा चित्रण गर्दै उनले नेपाली क्रिकेटको सफलताका लागि शुभकामना दिएका छन्।
प्रधानमन्त्री शाहले एनपीएलले छोटो समयमै नेपाली खेलकुदमा विशेष पहिचान बनाएको उल्लेख गर्दै प्रतियोगितामा सहभागी अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरलाई स्वागत गरेका छन्।

उनले नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई पनि प्रतियोगिताको सफलताका लागि शुभकामना दिएका छन्।
‘नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता एनपीएल आजदेखि सुरु हुँदैछ। केही वर्षमै यो ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको छ,’ उनले भनेका छन्, ‘लिगमा सहभागी हुन आएका सबै अन्तर्राष्ट्रिय खेलाडी र कमेन्टेटरलाई हार्दिक स्वागत छ। नेपाली खेलाडी, आयोजक र क्यानलाई यो सुन्दर प्रतियोगिताका लागि शुभकामना। नेपाली क्रिकेट अमर रहोस्।’
त्रिभुवन विश्वविद्यालयस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने उनका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिएकी छन्।
प्रतियोगिताको उद्घाटन खेलमा अघिल्लो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्। निर्धारित तालिकाअनुसार खेल अपराह्न ४ः३० बजे सुरु हुनेछ।
तेस्रो संस्करणको एनपीएलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्ससँगै जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताले नेपाली क्रिकेटको लोकप्रियता बढाउनुका साथै स्वदेशी खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडीहरूसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। प्रतियोगिताका खेल हिमालय स्पोर्ट्स र अनलाइनखबर डटकमबाट प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ।

Leave a Comment