दशैं मनाउन ससुराली पुगेका ज्वाइँको आक्रमणबाट श्रीमतीसहित चारजना घाइते

पढ्न लाग्ने समय : 1 मिनेट

खोटाङ, ९ कात्तिक। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३, आहालेमा धारिलो हतियार प्रहारबाट एकै परिवारका चारजना घाइते भएका छन्।

दशैं मनाउन ससुराली पुगेका ४३ वर्षीय नइन्द्रकुमार राईले श्रीमतीसहित ससुरालीका सदस्यहरूमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आक्रमणबाट ४० वर्षीया अञ्जना राई, ६२ वर्षीया स्यामाउन राई, २५ वर्षीया तेनिना राई र नरेन्द्र राई घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार घाइते अञ्जना नइन्द्रकुमारकी श्रीमती हुन्। त्यसैगरी, स्यामाउन उनकी सासु, नरेन्द्र ससुरा र तेनिना साली हुन्।
आक्रमणमा परेका अञ्जना र तेनिनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुवैलाई उद्धार गरी उपचारका लागि नगर अस्पताल दुर्छिम पठाइएको छ। अन्य घाइतेहरूको अवस्थाबारे भने विस्तृत विवरण सार्वजनिक भएको छैन।
घटनामा संलग्न नइन्द्रकुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको कारण खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Comment