जेनजी घटनाको छानबिन निर्णायक मोडमा, तत्कालीन आईजीपी खापुङ आयोगमा बयान दिँदै

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, ३ पुस
जेनजी घटनाको सत्यतथ्य सार्वजनिक गर्ने प्रक्रियाले निर्णायक मोड लिएको छ। २३ र २४ भदौमा भएका घटनाको छानबिन गरिरहेको उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङको बयान लिन सुरु गरेको छ।

सिंहदरबारस्थित आयोगको कार्यालयमा बिहीबार अवकाशप्राप्त आईजीपी खापुङको बयान जारी रहेको आयोग स्रोतले जनाएको छ। जेनजी घटनाका बेला खापुङ नै प्रहरी संगठनको नेतृत्वमा थिए। सो घटनामा प्रहरीले चलाएको गोली लागेर २२ जनाको ज्यान गएको थियो, जसपछि सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गरेको भन्दै व्यापक आलोचना भएको थियो।

छानबिनको क्रममा आयोग र खापुङबीच असहज अवस्था समेत देखिएको थियो। आयोगले फिल्डमा खटिएका सुरक्षाकर्मीहरूको विवरण माग्दा खापुङले प्रारम्भमा स्पष्ट विवरण नपठाएको आयोगको दाबी छ। उनले जवानदेखि आईजीपीसम्म सबै फिल्डमै रहेको जवाफ पठाएपछि आयोगले जरिवानासम्मको तयारी गरेको थियो। त्यसपछि मात्रै आवश्यक विवरण पठाइएको आयोगले जनाएको छ।

आयोगले हाल घटनासँग सम्बन्धित अधिकांश पक्षहरूको बयान संकलन गरिसकेको बताइएको छ। खापुङको बयानपछि अब तत्कालीन गृहमन्त्री र प्रधानमन्त्रीलाई आयोगमा उपस्थित गराएर बयान लिने तयारी भइरहेको छ।

जेनजी घटनाबारे आयोगको अन्तिम प्रतिवेदनमा कसलाई कस्तो जिम्मेवारी तोकिने हो भन्ने चासो बढिरहेका बेला, उच्च तहका जिम्मेवार व्यक्तिहरूको बयानलाई निर्णायक मानिएको छ।

Leave a Comment