काठमाडौँ, कात्तिक ९। बंगालको खाडीमा विकसित भइरहेको ‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना देखिएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणका अनुसार चक्रवात आगामी कात्तिक ११ गते भारतको जमिनमा प्रवेश गर्ने सम्भावना छ। यसको प्रभाव नेपालमा कात्तिक १२ गते रातिदेखि देखिन सक्ने मौसम पूर्वानुमान गरिएको छ।
कात्तिक १३ र १४ गते कोसी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान छ। कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि वर्षा, हावाहुरी र चट्याङको सम्भावना छ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेकाले विशेष सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ।
धानबाली भित्र्याउन र अनावश्यक यात्रा नगर्न सुझाव
सम्भावित विपद्को जोखिम न्यूनीकरण गर्न प्राधिकरणले कात्तिक १२ गतेअघि नै धान काट्ने र भित्र्याउने काम सक्न किसानलाई सुझाव दिएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा जाने पर्यटकलाई यात्रा नगर्न र त्यहाँ पुगिसकेका पर्यटकलाई जोखिमको अवधिभर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।
मौसम प्रतिकूल हुँदा सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न पनि प्राधिकरणले अनुरोध गरेको छ। आवश्यक परे सवारी आवागमन रोक्ने व्यवस्था मिलाउन र त्यसबारे सर्वसाधारणलाई अग्रिम जानकारी दिन सम्बन्धित निकायलाई सुझाव दिइएको छ।
त्यसैगरी, संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा स्वयंसेवकलाई जोखिमबारे नागरिकलाई जानकारी गराउन र विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनिएको छ। जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने परिवारलाई आवश्यकताअनुसार सुरक्षित स्थानमा सार्न पनि प्राधिकरणले आग्रह गरेको छ।
नदीमा जलसतह बढ्न सक्ने चेतावनी
प्राधिकरणले कात्तिक ११ देखि १५ गतेसम्म नारायणी, बागमती, कमला र कोसी नदीका जलाधार तथा आसपासका क्षेत्रमा उल्लेख्य वर्षा हुन सक्ने जनाएको छ। वर्षाका कारण नदीको जलसतह बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।
प्राधिकरणले मौसमसम्बन्धी जानकारीका लागि ११५५, विपद्मा सहयोगका लागि १२३४, प्रहरी सहायता १०० वा १११४ मा सम्पर्क गर्न अनुरोध गरेको छ। साथै, मौसम विभाग र सम्बन्धित आधिकारिक निकायबाट जारी हुने पूर्वानुमान तथा चेतावनी पालना गर्न पनि आग्रह गरिएको छ।

