काठमाडौं, कात्तिक १०। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज मंगलबार दुई खेल हुँदैछन्।
प्रतियोगिताको पहिलो दिन एक खेल मात्रै भएकोमा दोस्रो दिन क्रिकेटप्रेमीले दुई रोमाञ्चक प्रतिस्पर्धा हेर्न पाउनेछन्।
आजको पहिलो खेलमा दिउँसो साढे १२ बजे चितवन राइनोज र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो खेल साँझ ५ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुनेछ।
सोमबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो।
आजको पहिलो खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्ग्स र कुशल मल्लको नेतृत्वमा रहेको चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ। दुवै टोलीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा अनुभव बटुलेका खेलाडी समावेश छन्।
विराटनगरको टोलीमा लोकेश बम, बसिर अहमद, प्रतिश जीसी, सुवास भण्डारी, नारायण जोशी, नरेन साउद, आन्द्रे रसेल, एन्जेलो म्याथ्युज र चरिथ असलंका लगायतका खेलाडी छन्।
त्यस्तै, चितवन राइनोजमा देव खनाल, अर्जुन साउद, रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, रवि बोपारा, सिकन्दर राजा, कलिम साना, हसन अली र उसामा मीर लगायतका खेलाडी रहेका छन्।
दिनको दोस्रो खेलमा हर्मित सिंहको कप्तानीमा रहेको जनकपुर बोल्ट्सले सोमपाल कामीको नेतृत्वमा रहेको कर्णाली याक्सको सामना गर्नेछ।
जनकपुरको टोलीमा कुशल परेरा, ललित राजवंशी, अनिल साह, विकास आग्री, जिमी नीशम, मोइन अली र इफ्तिकार अहमद लगायतका खेलाडी छन्। कर्णालीको टोलीमा डेभिड मिलर, नन्दन यादव, युवराज खत्री, पवन सर्राफ, दीपक डुम्रे, शुभ कंसाकार र दिवान पुन लगायतका खेलाडी समावेश छन्।
प्रतियोगितामा सहभागी टोलीहरू उपाधि यात्रालाई बलियो बनाउने लक्ष्यसहित मैदान उत्रनेछन्। एनपीएलको फाइनल खेल मंसिर ५ गते हुने तालिका रहेको छ।

