गुवाहाटी, कात्तिक १०। भारतको असम राज्यको गुवाहाटीस्थित एक होटेलमा भाडा सम्झौता (लीज) सम्बन्धी विवादले हिंसात्मक रूप लिँदा गोली प्रहारबाट पाँच जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। घटनामा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ।
प्रहरीका अनुसार सोमबार राति करिब साढे ९ बजे गुवाहाटीको व्यस्त जीएस रोडस्थित होटेलमा गोलीकाण्ड भएको हो। होटेलको लीज सम्झौतालाई लिएर उत्पन्न विवादका क्रममा छ जनामाथि गोली प्रहार गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
गुवाहाटीका प्रहरी आयुक्त पार्थ सारथी महन्तका अनुसार घटनापछि तत्काल कारबाही अघि बढाउँदै प्रहरीले मुख्य अभियुक्त घनकान्त गोगोईलाई पक्राउ गरेको हो। पक्राउ परेका गोगोईको साथबाट घटनामा प्रयोग गरिएको पेस्तोलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
मृत्यु हुने पाँच जनामध्ये चार जना होटेलको स्वामित्व रहेको परिवारका सदस्य भएको बताइएको छ। अभियुक्त गोगोईले करिब एक वर्षअघि उक्त होटेल लीजमा लिएको प्रहरीको भनाइ छ।
गोली लागेर घाइते भएका व्यक्तिहरूलाई उपचारका लागि गुवाहाटी मेडिकल कलेज तथा अस्पताल लगिएको थियो। अस्पताल पुर्याएलगत्तै ४८ वर्षीय नारायण दासलाई चिकित्सकले मृत घोषणा गरेका थिए। उनको अनुहारमा गोली लागेको अस्पताल स्रोतले जनाएको छ।
घटनामा घाइते भएका ४२ वर्षीय सत्येन्द्र पाठकको दाहिने काँधमा गोली लागेको छ। चिकित्सकका अनुसार उनको अवस्था हाल स्थिर रहेको छ।
घटनाको कारण, गोली प्रहारको क्रम र अन्य विवरणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
भारतको गुवाहाटीमा लीज विवादले निम्त्यायो नरसंहार, गोल प्रहारबाट पाँच जनाको मृत्यु
Leave a Comment
Leave a Comment

