सिरहा, कात्तिक १०-सिरहाको गोलबजार नगरपालिकामा पशु, बाख्रा र गुद्री हाटबजारको ठेक्का तथा राजस्व संकलनमा अनियमितता गरेको आरोपमा तत्कालीन नगरप्रमुख देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नगरप्रमुख तेली, उपप्रमुख रेशमकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतो, राजस्व शाखा प्रमुख दिनेश कुमार सहनी र ठेकेदार वीरेन्द्र कुमार यादवविरुद्ध मुद्दा दायर गरेको हो।
आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ मा गोलबजार नगरपालिका–६ र ७ मा पशु हाटबजार, बाख्रा हाटबजार तथा गुद्री हाटबजार सञ्चालनबाट राजस्व संकलन गर्ने जिम्मेवारी ठेकेदार यादवलाई अमानतमा दिइएको थियो। तर, प्रचलित कानुन र नगर कार्यपालिकाको निर्णयविपरीत राजस्वमा छुट दिने, सम्झौताबिना अग्रिम राजस्व असुल गर्ने तथा संकलित रकमको हिसाबमा अनियमितता गर्ने कार्य भएको आरोप छ।
आयोगले नगरसभाबाट मात्र दिन मिल्ने कर छुटको अधिकार प्रयोग गरी ७३ लाख ३४ हजार ९१३ रुपैयाँ राजस्व छुट दिइएको जनाएको छ। त्यसैगरी, अमानतमा संकलन गर्नुपर्ने राजस्व ठेकेदारलाई जिम्मा लगाइएको र असुल गर्नुपर्ने रकमसमेत नउठाउँदा सरकारी सम्पत्तिमा हानि–नोक्सानी पुगेको आरोपपत्रमा उल्लेख छ।
यस प्रकरणमा आयोगले तत्कालीन नगरप्रमुख तेली, उपप्रमुख थापा र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केसीविरुद्ध जनही १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा बिगो कायम गरेको छ।
त्यस्तै, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत महतो र राजस्व शाखा प्रमुख सहनीविरुद्ध जनही १ करोड ३३ लाख ११ हजार ४३१ रुपैयाँ १० पैसा बिगो कायम गरिएको छ। ठेकेदार यादवविरुद्ध पनि १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा बिगो कायम गरी भ्रष्टाचारबाट प्राप्त लाभ र गैरकानुनी कार्यमा संलग्नताको आरोपमा सजाय माग गरिएको आयोगले जनाएको छ।
आयोगले आरोपितहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाही र सजायको मागदाबी गरेको छ।

