सम्पत्ति शुद्धीकरण प्रकरण: तीन पूर्वप्रधानमन्त्रीमाथि अनुसन्धान अघि बढ्यो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१५ चैत,काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन प्रक्रिया अघि बढाइएको छ।

पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)को सम्पत्तिबारे अनुसन्धान अघि बढाइएको हो।

सम्पत्ति शुद्धीकरण विभागले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पत्राचार गरेपछि सीआईबीले अनुसन्धान प्रक्रिया अघि बढाएको हो।

विभागकै पत्राचारअनुसार आइतबार कांग्रेस नेता तथा पूर्वऊर्जा मन्त्री दीपक खड्का पक्राउ परेका छन्।

सीआईबीका एआईजी डा. मनोज केसीका अनुसार विभागको पत्रअनुसार उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि पक्राउ गरिएको हो।

तीन पूर्वप्रधानमन्त्रीको विषयमा भने सीआईबीले औपचारिक प्रतिक्रिया दिएको छैन। तर गृह स्रोतका अनुसार उनीहरूको सम्पत्तिबारे अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

यसअघि जेनजी आन्दोलनका क्रममा शेरबहादुर देउवाको निवासमा पैसा भेटिएको विषय सार्वजनिक भएको थियो। त्यसपछि विभागले देउवा निवासमा पुगेर मुचुल्का उठाएको थियो।

यस्तै, प्रचण्डकी छोरी गंगाको निवास र ओली निवासमा पनि मुचुल्का उठाएर अनुसन्धान गरिएको थियो।

अहिले सोही अनुसन्धानलाई थप तीव्रता दिँदै सीआईबीले प्रक्रिया अघि बढाएको हो।


Leave a Comment