एनपीएलमा आज पोखरा र सुदूरपश्चिमबीच प्रतिस्पर्धा, पहिलो जितको खोजीमा दुवै टोली

पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, ११ कात्तिक।-नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार साँझ ५ बजेदेखि सुरु हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिनेछन्।
कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्स यसअघिका दुवै संस्करणमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो। यसपटक भने पुरानो नतिजा बदल्दै जित हासिल गर्ने योजनामा पोखरा रहेको छ। अघिल्ला संस्करणमा प्लेअफसम्म पुग्न नसकेको पोखराका लागि यस प्रतियोगितामा राम्रो प्रदर्शन गर्नु चुनौतीपूर्ण हुनेछ।
यता, दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम रोयल्स पनि जितको खोजीमा छ। प्रतियोगिताको पहिलो खेलमा हार बेहोरेको सुदूरपश्चिम आजको खेल जित्दै प्रतियोगितामा पुनरागमन गर्न चाहन्छ।
सुदूरपश्चिमले यसअघिका लगातार दुई संस्करणमा फाइनलसम्मको यात्रा तय गरे पनि उपाधि जित्न सकेको थिएन। त्यसैले यसपटक उपाधि जित्ने लक्ष्य राखेको टोलीका लागि सुरुआती हारपछि लयमा फर्कन आजको खेल महत्त्वपूर्ण हुनेछ।
कात्तिक ९ गतेदेखि सुरु भएको एनपीएलमा आठ टोली सहभागी छन्। प्रतियोगिताको फाइनल खेल आगामी मङ्सिर ५ गतेका लागि निर्धारित छ।
मङ्गलबार भएका खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई तथा चितवन राइनोजले विराटनगरलाई पराजित गरेका थिए।

Leave a Comment