विराटनगर, ११ कात्तिक। पसलबाट सामान चोरी गरेको आरोप लगाएको विषयमा बढेको रिसइबीका कारण विराटनगरमा एक भारतीय व्यवसायीको हत्या भएको खुलेको छ। प्रहरीले हत्या आरोपमा विराटनगर महानगरपालिका–६ निवासी ३७ वर्षीय अब्जर मियालाई पक्राउ गरेको छ।
मोरङको विराटनगर महानगरपालिका–६ महावीर रोडमा ब्याट्री पसल सञ्चालन गर्दै आएका भारतीय नागरिक लालजीप्रसाद गुप्ताको हत्या आरोपमा पक्राउ परेका मियाले योजनाबद्ध रूपमा घटना गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गुप्ताले आफ्नो पसलबाट सामान चोरी गरेको आरोप मियामाथि लगाउँदै आएका थिए। यही विषयलाई लिएर उनीहरूबीच मनमुटाव बढेको थियो। सोही आरोपको बदला लिने उद्देश्यले मियाले गुप्ताको हत्या गर्ने योजना बनाएको अनुसन्धानबाट खुलेको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गत शुक्रबार राति मियाले गुप्तालाई आफ्नो घरमा खाना खान बोलाएका थिए। घरमा दुवै जना सँगै बसेर मदिरा सेवन गरेका थिए। मदिराको नशामा रहेका बेला मियाले सुरुमा बियरको बोतल र त्यसपछि फलामको रडले गुप्ताको टाउकोमा प्रहार गरेको आरोप छ।
गुप्ताको हत्या गरेपछि शव लुकाउन मियाले सिटी सफारी प्रयोग गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। उनले शव बोरामा राखेर सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा लगेर फालेको बताइएको छ।
आइतबार बिहान स्थानीय बासिन्दाले खोलामा बोराभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै सुनसरीका प्रहरी प्रमुख एसपी पुष्पराज मल्लसहितको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको थियो।
मृतक गुप्ता भारतको उत्तर प्रदेशस्थित बनारसका बासिन्दा थिए। उनी लामो समयदेखि विराटनगरमा एक्लै बस्दै ब्याट्रीको कारोबार गर्दै आएका थिए।
घटनाबारे प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सुनसरी र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

