इनिसा विक हत्या प्रकरण : माइतीघरमा न्यायको माग गर्दै प्रदर्शन

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, फागुन २८ — १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या भएको घटनामा न्यायको माग गर्दै बिहीबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।

प्रदर्शनमा सहभागीहरूले ‘इनिसा विकलाई न्याय दे’, ‘बलात्कारीलाई कडा कारबाही गर’, ‘बलात्कारविरुद्ध कडा कानून लागू गर’ लगायतका नारासहित प्लेकार्ड बोकेका थिए। प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा सजाय दिन सरकारसँग माग गरेका छन्।

गुर्भाकोट नगरपालिका–६, बडाखोली स्थायी घर भएकी इनिसा विक फागुन २३ गते बिहान सुर्खेतको वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकको जनजागरण सामुदायिक वन क्षेत्रमा अचेत अवस्थामा फेला परेकी थिइन्। उनलाई उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ। पक्राउ परेका सबै १८ वर्षभन्दा कम उमेरका किशोर रहेको बताइएको छ।

प्रहरीका अनुसार घटनाको थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पनि सुर्खेत पुगेको छ। सुर्खेत प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान पूरा गरेपछि थप अनुसन्धानका लागि सीआईबीसँग सहयोग मागेको जनाएको छ।

यस घटनामा दोषीलाई कडा कारबाही र पीडित परिवारलाई न्याय दिनुपर्ने माग गर्दै विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेका छन्। साथै पीडित परिवारले अहिलेसम्म शव नबुझेको पनि बताइएको छ।

Leave a Comment