बारा, ७ कात्तिक। सर्लाहीमा यात्रुवाहक विद्युतीय भ्यान र साबुन बनाउन प्रयोग हुने रसायन बोकेको ट्रक एकआपसमा ठोक्किँदा बारा जिल्लाका १२ जना घाइते भएका छन्।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ भने तीन जनाको अवस्था मध्यम रहेको छ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा बारा जिल्लाका विभिन्न स्थानीय तहका बासिन्दा घाइते भएका हुन्। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको म.प्र.–०४–००१ ज ००५७ नम्बरको विद्युतीय भ्यान र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०२–००२ ख १३२४ नम्बरको ट्रक आपसमा ठोक्किएका थिए।
दुर्घटनामा सुवर्ण गाउँपालिका–४ का ३७ वर्षीय रञ्जित राम गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि बारास्थित एलएस न्युरो अस्पताल पठाइएको छ। भ्यान चालक महागढीमाई नगरपालिका–६ का ४१ वर्षीय कामेश्वर सहनी, सुवर्ण गाउँपालिका–४ का ४५ वर्षीय भवन राम र कलैया उपमहानगरपालिका–२६ का ३७ वर्षीय उमेश राम मध्यम घाइते भएका छन्।
त्यसैगरी महागढीमाई नगरपालिका–९ का ४८ वर्षीय राजेन्द्र राम, सुवर्ण गाउँपालिका–४ का ४० वर्षीय राजदेव राम, विनोद राम र ४७ वर्षीय रुदल राम, सुवर्ण गाउँपालिका–७ का ६३ वर्षीय हरिहर राम, कलैया उपमहानगरपालिका–२६ का ३७ वर्षीय नन्दन राम, पचरौता नगरपालिका–७ का ५५ वर्षीय रामसन्देय राम तथा सिम्रौनगढ नगरपालिका–४ का ४० वर्षीय नवलकिशोर राम सामान्य घाइते भएका छन्।
दुर्घटनापछि घाइते सबैलाई उपचारका लागि सर्लाहीको लालबन्दीस्थित मोडल अस्पताल लगिएको थियो। गम्भीर घाइते रञ्जित रामलाई भने थप उपचारका लागि बारास्थित एलएस न्युरो अस्पताल पठाइएको हो।
दुर्घटनामा संलग्न ट्रकका चालक मोरङको बूढीगंगा गाउँपालिका–४, क्याम्पसचोकका करिब ३५ वर्षीय विष्णुप्रसाद चौलागाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय केशरगञ्ज पठाइएको जनाइएको छ।
दुवै सवारीसाधनलाई प्रहरी चौकी फूलजोरमा ल्याउने प्रक्रिया अघि बढाइएको छ। दुर्घटनाका कारण पूर्व–पश्चिम राजमार्गको यातायात भने अवरुद्ध नभएको जनाइएको छ।

