छठ पर्वको दोस्रो दिन आज खरना, देशभर छठको रौनक; साँझ चन्द्र दर्शनपछि प्रसाद ग्रहण गरिँदै

पढ्न लाग्ने समय : 3 मिनेट
फोटो-एआइ

महोत्तरी, २८ कात्तिक। लोकआस्थाको महापर्व छठ तराई–मधेशदेखि पहाडी तथा हिमाली क्षेत्रसम्म श्रद्धा र उत्साहका साथ मनाइँदैछ। चारदिने यस पर्वको दोस्रो दिन आज शनिबार व्रतालुहरूले विधिपूर्वक खरना पूजा गर्दैछन्। साँझ चन्द्र दर्शनपछि छठी माता र कुलदेवतालाई गुडबाट बनाइएको खीर अर्पण गरी प्रसाद ग्रहण गरिनेछ।

छठ पर्वको पहिलो दिन शुक्रबार व्रतालुहरूले नहाय–खाय विधि पूरा गरेका थिए। स्नान गरी शुद्ध शाकाहारी भोजन ग्रहण गर्दै व्रतको सङ्कल्प गरेका उनीहरूले आज पञ्चमी तिथिमा बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास बस्नेछन्। सूर्यास्तपछि चन्द्र दर्शन गरेर खरना विधि सम्पन्न गर्ने परम्परा छ।

खरनाको प्रसादका रूपमा माटोको नयाँ चुलो र माटोकै भाँडामा गुड, दूध तथा स्थानीय धानको चामल प्रयोग गरी खीर पकाइन्छ। उक्त खीर केराको पातमा राखेर छठी माता र कुलदेवतालाई अर्पण गरिन्छ। त्यसपछि व्रतालुहरूले प्रसाद ग्रहण गर्छन् भने परिवारका अन्य सदस्यले पनि श्रद्धापूर्वक प्रसाद खाने चलन छ।

पर्वको तेस्रो दिन आइतबार व्रतालुहरूले निराहार व्रत बसेर साँझ नदी, पोखरी तथा अन्य जलाशयका किनारमा बनाइएका आकर्षक घाटमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य अर्पण गर्नेछन्। मिथिलाञ्चलमा यस विधिलाई ‘सझुका अरख’ वा ‘सझिया घाट’ भन्ने गरिन्छ।

त्यसैगरी, पर्वको चौथो तथा अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य अर्पण गरिनेछ। मिथिलाञ्चलमा यस विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ। उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चारदिने छठ महापर्व विधिवत् रूपमा सम्पन्न हुनेछ।
छठ पूजामा ठकुवा, भुसुवा लगायतका परम्परागत मिष्ठान्न परिकार र विभिन्न फलफूलको विशेष महत्त्व छ। बाँसबाट बनेका सूप र डगरीमा पूजा सामग्री सजाएर सूर्यदेवलाई अर्पण गरिन्छ। पूजापछि प्रसाद परिवारका सदस्य, आफन्त र इष्टमित्रबीच वितरण गर्ने परम्परा रहेको छ।

केही वर्षअघिसम्म मुख्यतः तराई–मधेश र मिथिलाञ्चलमा विशेष रूपमा मनाइने छठ पर्व अहिले देशव्यापी बन्दै गएको छ। काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रका विभिन्न स्थानमा समेत नदी, पोखरी र जलाशयका किनारमा घाट सजाएर श्रद्धालुहरूले छठ पर्व मनाउन थालेका छन्। मधेसी समुदायमा मात्र सीमित नरही पहाडी समुदायका हिन्दू धर्मावलम्बीहरूको सहभागिता पनि पछिल्लो समय उल्लेख्य रूपमा बढ्दै गएको छ।

मिथिलाञ्चलमा मुस्लिम समुदायका व्यक्तिहरूले समेत व्रतालुप्रति श्रद्धा प्रकट गर्दै सूर्यदेवलाई अर्पण गरिने अर्घ्यमा आफ्ना मनोकामना समावेश गराउने परम्परा रहेको छ। यसले छठ पर्वलाई धार्मिक आस्थासँगै सामाजिक सद्भावको साझा उत्सवका रूपमा स्थापित गर्न सहयोग पुर्‍याएको छ।

छठ पर्व धार्मिक आस्था, निष्ठा, समर्पण, आत्मशुद्धि र प्रकृतिप्रतिको सम्मानको प्रतीक हो। देशका विभिन्न भूगोल, जातजाति र समुदायको बढ्दो सहभागिताले छठ पर्वलाई राष्ट्रिय एकता, सामाजिक सद्भाव र सांस्कृतिक विविधताको साझा उत्सवका रूपमा स्थापित गर्दै लगेको छ।

Leave a Comment