बारामा ७१औँ अपराध अनुसन्धान विभाग दिवस : यौन हिंसाविरुद्ध जनचेतनामूलक र्‍याली

पढ्न लाग्ने समय : 1 मिनेट

कलैया, मंसिर १ । यौनजन्य हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्दै सुरक्षित समाज निर्माण गर्ने उद्देश्यले बारामा अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवस मनाइएको छ।

स्थापना दिवसको अवसरमा सोमबार बिहान कलैया उपमहानगरपालिका–१ स्थित जिल्ला प्रशासन कार्यालय बाराको प्राङ्गणबाट जनचेतनामूलक र्‍याली निकालिएको थियो। ‘यौनजन्य हिंसाको अन्त्य गरौँ, सुरक्षित समाजको निर्माण गरौँ’ भन्ने नारासहित निकालिएको र्‍यालीले कलैया बजारका विभिन्न भागको परिक्रमा गरेको थियो।

जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीको प्रमुख आतिथ्य तथा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको अध्यक्षतामा आयोजित कार्यक्रममा कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोदप्रसाद साह अतिथिका रूपमा सहभागी थिए।

र्‍यालीमा स्थानीय जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, शिक्षक, विद्यार्थी, सामाजिक संघसंस्थाका प्रतिनिधि, आमा समूह तथा लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समितिका सदस्यसहित करिब ३०० जनाको सहभागिता रहेको थियो।
सहभागीहरू जिल्ला प्रशासन कार्यालय बाराको सभाहलमा भेला भई स्थापना दिवसको औपचारिक कार्यक्रम सुरु गरिएको थियो।
कार्यक्रमले यौनजन्य हिंसाविरुद्ध सामूहिक आवाज उठाउँदै समाजमा सुरक्षित वातावरण निर्माण गर्न नागरिक, प्रहरी तथा सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको सन्देश दिएको छ।

Leave a Comment