रत्नायकेको अविजित अर्धशतकले सुदूरपश्चिम फाइनलमा, चितवनको यात्रा समाप्त

पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं । थारिन्दु रत्नायकेको उत्कृष्ट अविजित अर्धशतक र स्कट कुगेलिनको घातक बलिङको मद्दतमा सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिमले उपाधि भिडन्तमा आफ्नो स्थान सुरक्षित गरेको हो।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो।
सुदूरपश्चिमको जितमा थारिन्दु रत्नायके नायक बने। उनले ४२ बलमा ७ चौका प्रहार गर्दै अविजित ५३ रन बनाए। दबाबपूर्ण अवस्थामा पनि धैर्यपूर्ण ब्याटिङ गरेका उनले अन्तिमसम्म क्रिजमा टिकेर टोलीलाई जितसम्म पुर्‍याए।
सुदूरपश्चिमका लागि विनोद भण्डारीले १३ बलमा २३ रन बनाए। कप्तान दीपेन्द्रसिंह ऐरीले १५, ईशान पाण्डेले १० र आरिफ शेखले १० रन जोडे। ओपनर जर्ज मुन्से ८ रनमा आउट भए भने स्कट कुगेलिनले २ रन मात्र बनाउन सके।
एक समय ४५ रनमै ४ विकेट गुमाएर संकटमा परेको सुदूरपश्चिमलाई रत्नायकेले सम्हालेका थिए। अन्तिम समयमा दीपक बोहरासँग मिलेर उनले टोलीलाई एक बल बाँकी रहँदा जित दिलाए।
चितवनका लागि रञ्जित कुमारले २ विकेट लिए भने कमल ऐरी, रिजान ढकाल, उसामा मिर र सलाहुद्दिन खानले समान १ विकेट हात पारे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रन बनाएको थियो।
चितवनका लागि डेभिड मलानले उत्कृष्ट प्रदर्शन गर्दै ५१ बलमा ९ चौका र २ छक्कासहित अविजित ७१ रन बनाए। तर अर्को छेउबाट नियमित विकेट झर्दा उनको व्यक्तिगत प्रदर्शन टोलीका लागि पर्याप्त हुन सकेन।
सलाहुद्दिन खानले १८ र कमल ऐरीले १० रन बनाए। अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्।
सुदूरपश्चिमका बलरमध्ये स्कट कुगेलिन सर्वाधिक प्रभावशाली रहे। उनले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए। थारिन्दु रत्नायकेले २ विकेट लिए भने दीपेन्द्रसिंह ऐरी, ईशान पाण्डे र हेमन्त धामीले समान १ विकेट लिए।
चितवनले पावरप्लेमा ३ विकेट गुमाएर ३२ रन मात्र बनाउन सकेको थियो। सुरुदेखि नै दबाबमा परेको टोलीलाई डेभिड मलानले सम्हाल्ने प्रयास गरे पनि ठूलो स्कोर बनाउन सकेन।
यस जितसँगै सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा पुगेको छ। पराजित चितवन राइनोज भने प्रतियोगिताबाट बाहिरिएको छ र तेस्रो स्थानमा सीमित भएको छ।

Leave a Comment