काठमाडौं, मंसिर ४। कतारको दोहामा जारी एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा नेपाली टोलीले आज बलियो प्रतिद्वन्द्वी भारत ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ।
सन्दीप लामिछानेको कप्तानीमा नेपालले समूह ‘बी’ अन्तर्गतको पहिलो खेलमा भारत ‘ए’को सामना गर्न लागेको हो।
दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ। प्रतियोगिताको पहिलो खेलमै बलियो टोलीसँग भिड्नुपर्ने भएपछि नेपालका लागि यो प्रतिस्पर्धा चुनौतीपूर्ण हुने देखिएको छ।
नेपाल रहेको समूह ‘बी’ मा भारत ‘ए’, पाकिस्तान ‘ए’ र संयुक्त अरब इमिरेट्स (यूएई) छन्। यही समूहको अर्को खेलमा शुक्रबार बिहान ११ः४५ बजे पाकिस्तान ‘ए’ र यूएई आमनेसामने हुँदैछन्।
प्रतियोगिताअघि नेपाली टोलीलाई चोटको समस्या परेको छ।
अनुभवी तीव्र गतिका बलर सोमपाल कामी घाइते भएपछि उनको स्थानमा बायाँहाते तीव्र गतिका बलर प्रतिश जीसीलाई टोलीमा समावेश गरिएको छ। यस्तै, ट्राभलिङ रिजर्भमा रहेका मयन यादवलाई पनि मुख्य टोलीमा ल्याइएको छ।
नेपाली टोलीमा कप्तान सन्दीप लामिछानेसहित कुशल भुर्तेल, ललित राजवंशी, सन्दीप जोरा, पवन सर्राफ, लोकेश बम, देव खनाल, वसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, राशिद खान, ईशान पाण्डे, दीपक डुम्रे, अभिषेक गौतम, प्रतिश जीसी र मयन यादव रहेका छन्।
भारत ‘ए’ पनि बलियो खेलाडीको समूहसहित मैदान उत्रिने तयारीमा छ। तिलक वर्माको कप्तानीमा रहेको टोलीमा उपकप्तान रिंकु सिंह, अभिषेक शर्मा र युवा ब्याटर वैभव सूर्यवंशीजस्ता खेलाडी छन्। भारतीय टोलीमा आईपीएल तथा अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव हासिल गरिसकेका खेलाडीको उपस्थिति छ।
भारत ‘ए’को ब्याटिङ र बलिङ दुवै पक्ष बलियो देखिएकाले नेपालले खेलको सुरुदेखि नै संयमित प्रदर्शन गर्नुपर्नेछ। कसिलो बलिङ, प्रभावकारी फिल्डिङ र जिम्मेवार ब्याटिङ नेपालका लागि जितको आधार बन्न सक्नेछन्।
नेपालले भारत ‘ए’सँगको खेलपछि आइतबार यूएई र मंगलबार पाकिस्तान ‘ए’सँग प्रतिस्पर्धा गर्नेछ।
आठ टोली सहभागी प्रतियोगितामा समूह ‘ए’ मा अफगानिस्तान ‘ए’, बंगलादेश ‘ए’, श्रीलंका ‘ए’ र हङकङ रहेका छन्। समूह चरणमा प्रत्येक टोलीले आफ्ना समूहका अन्य टोलीसँग एक–एक खेल खेल्नेछन्। दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।
प्रतियोगिताको सेमिफाइनल खेल मंसिर ११ र १२ गते तथा फाइनल खेल मंसिर १४ गते हुनेछ।

