काठमाडौं । फिनल्यान्डको खाडीमा रुसको मालवाहक पानीजहाज ‘स्पार्टा द्वितीय’ माथि ड्रोन आक्रमण भएको छ। आक्रमणपछि जहाजमा आगलागी भएको र नियन्त्रण गुमाएर बग्दै जाँदा फिनल्यान्डको जलक्षेत्रमा प्रवेश गरेको अधिकारीहरूले जनाएका छन्।
रुसको कालिनिनग्राद क्षेत्रतर्फ गइरहेको उक्त जहाजमाथि शनिबार बिहान आक्रमण भएको हो। प्रारम्भिक जानकारीअनुसार जहाजमा दुईवटा ड्रोनबाट आक्रमण गरिएको थियो। आक्रमणपछि लागेको आगोका कारण जहाजको नियन्त्रण गुमेको बताइएको छ।
फिनल्यान्डको रक्षा बलले घटनामा युक्रेनको संलग्नता हुन सक्ने आशंका व्यक्त गरेको छ। यद्यपि, युक्रेनले यस विषयमा अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
कालिनिनग्रादका गभर्नरले पनि दुईवटा ड्रोनबाट आक्रमण भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताएका छन्। उनका अनुसार घटनाका कारण कालिनिनग्राद क्षेत्रको आपूर्ति व्यवस्थामा भने कुनै असर पर्ने छैन।
फिनल्यान्डको तटरक्षक बलका अनुसार शनिबार बिहान स्थानीय समयअनुसार ८ बजेर ५० मिनेटमा आक्रमणबारे सूचना प्राप्त भएको थियो। त्यसबेला उक्त जहाज फिनल्यान्डको खाडीस्थित सुर्सारी टापुबाट करिब ५० किलोमिटर पश्चिममा रहेको थियो।
घटनापछि फिनल्यान्डका सुरक्षा निकायले तत्काल सतर्कता बढाउँदै प्रभावित क्षेत्र वरपर अस्थायी हवाई तथा सामुद्रिक प्रतिबन्ध लागू गरेका छन्।
उल्लेखनीय छ, कालिनिनग्राद रुसको मुख्य भूभागबाट अलग रहेको क्षेत्र हो। यो बाल्टिक सागरको तटमा पोल्यान्ड र लिथुआनियाबीच अवस्थित छ। भौगोलिक तथा सामरिक दृष्टिले महत्त्वपूर्ण मानिने यस क्षेत्रमा भएको घटनाले बाल्टिक क्षेत्रको सुरक्षा अवस्थाबारे थप चासो बढाएको छ।

