जनकपुरधाम, २१ मंसिर।
मधेश प्रदेशमा हालै गठन भएको नयाँ सरकारले काम थालनी गर्दै गर्दा मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी मंसिर २४ गते प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन्।
सत्तारुढ सातदलीय गठबन्धनको आज बसेको बैठकले सोही दिन विश्वासको मत लिने निर्णय गरेको थियो।
कांग्रेस संसदीय दलका नेता यादवलाई प्रदेश प्रमुखले मंसिर १९ गते मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। उनले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन।
शपथपछि मुख्यमन्त्री यादवले सानो आकारको प्रारम्भिक मन्त्रिपरिषद् घोषणा गर्ने तयारी अघि बढाएको स्रोतले बताएको छ। विश्वासको मत पाएपछि मन्त्रालयहरूको जिम्मेवारी हेरफेर गर्दै मन्त्रिपरिषद् पूर्णता दिने योजना सरकारसँग रहेको छ।







