करिब २४ घण्टापछि सञ्चालनमा आयो चन्द्रनिगाहपुर–निजगढ सडकखण्ड

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१६ पुस, काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्ड करिब २४ घण्टासम्म अवरुद्ध रहेपछि बुधबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ।

मंगलबार बिहान करिब ७:५० बजे ग्यास बोकेको बुलेट पल्टिँदा उक्त सडकखण्ड पूर्ण रूपमा बन्द भएको थियो। राजमार्ग अवरुद्ध हुँदा लामो दूरीका सवारीसाधन तथा यात्रुहरू वैकल्पिक रूपमा घुमाउरा ग्रामीण सडक प्रयोग गर्न बाध्य भएका थिए, जसका कारण यात्रुहरूलाई निकै सास्ती खेप्नुपरेको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार क्रेनको सहायताले दुर्घटनाग्रस्त ग्यास बुलेटलाई सडकको किनारामा सारिएपछि बुधबार बिहान साढे ७ बजेदेखि सडक दुईतर्फी रूपमा खुलाइएको हो। ट्राफिक प्रहरी निरीक्षक राजेन्द्र थापामगरले राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको जानकारी दिएका छन्।

दुर्घटनापछि ग्यास चुहावट देखिएपछि सम्भावित आगलागीको जोखिमलाई मध्यनजर गर्दै दमकल परिचालन गरिएको थियो। दमकलले निरन्तर पानी छर्किंदै सुरक्षा सुनिश्चित गरेपछि दुईवटा क्रेन प्रयोग गरी ग्यास बुलेट हटाइएको हो। त्यसपछि राजमार्गमा परेको ग्यास र पानीका अवशेष सफा गरी सवारी सञ्चालन योग्य बनाइएको प्रहरीले जनाएको छ।

सडक खुलेसँगै पूर्व–पश्चिम राजमार्गमा आवागमन पुनः सहज भएको छ।

Leave a Comment