२२ मंसिर, काठमाडौं — नेपाल विद्युत् प्राधिकरण (नेवि प्र) का पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पुनर्स्थापना गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्व सम्हालेपछि कुलमान घिसिङले शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरेका थिए। सो निर्णयविरुद्ध शाक्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
रिटमाथि भएको सुनुवाइपछि न्यायाधीश डा. नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले सरुवा निर्णय बदर गर्दै शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः बसाल्न निर्देशन दिएको हो।
यस आदेशसँगै प्राधिकरणको नेतृत्वमा फेरि एकपटक नयाँ मोड आएको छ। ऊर्जा क्षेत्रमै चर्चित दुई व्यक्तित्व—कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यबीचको प्रशासनिक विवाद अब कानुनी रुपमै शाक्यको पक्षमा फर्किएको छ।

