मङ्गलबार, २३ मंसिर २०८२-युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सोमबार बेलायत पुगेपछि बेलायती प्रधानमन्त्री केयर स्टारमर, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र जर्मन चान्सलर फ्रेडरिक मर्जसँग डाउनिङ स्ट्रिटमा संयुक्त वार्ता गरेका छन्।
फ्लोरिडामा हालै सम्पन्न युक्रेनी तथा अमेरिकी अधिकारीबीचको छलफलपछि तयार पारिएको नयाँ ‘युक्रेन शान्ति योजना’ बारे चार नेताबीच केन्द्रित कुराकानी भएको बीबीसीलाई उद्धृत गर्दै बताइएको छ।
वार्तापछि प्रधानमन्त्री स्टारमरले युक्रेनप्रति बेलायतको समर्थन निरन्तर रहने स्पष्ट गर्दै भने,
‘हामी हरेक कठिन परिस्थितिमा युक्रेनको साथमा छौँ। युद्धविराम सम्भव छ भने त्यो दीर्घकालीन र दिगो हुनुपर्छ।’
राष्ट्रपति जेलेन्स्कीले युद्ध अन्त्यको मार्ग खोज्ने प्रक्रियामा अमेरिका, यूरोप र युक्रेनबीच बलियो सामूहिक एकता अपरिहार्य रहेको उल्लेख गरे।
उनका अनुसार,
‘केही चुनौतीहरू अमेरिकाबिना समाधान हुन सक्दैनन् भने केही अवस्थामा युरोपको सहकार्य अत्यावश्यक हुन्छ। त्यसैले तीन पक्षबीचको समन्वय निर्णायक छ।’
युद्ध दीर्घिदै जाँदा उत्पन्न मानवीय तथा सुरक्षासम्बन्धी असर न्यूनीकरण, सैन्य सहयोग र कूटनीतिक मार्गबाट दीर्घकालीन समाधानका विकल्प बैठकको मुख्य एजेन्डा रहेको बताइएको छ।

