एनपीएल एलिमिनेटर : काठमाण्डु र लुम्बिनी आज किर्तिपुरमा आमनेसामने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

किर्तिपुर, काठमाडौं – २४ मंसिर २०८२

नेपाल प्रिमियर लिग (एनपीएल)–२०२५ अन्तर्गत एलिमिनेटर खेल आज (मंगलबार) काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्सबीच हुँदैछ। खेल किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुनेछ।

लिग चरणमा बलियो सुरुवात गरे पनि बीचमा लय गुमाएको काठमाण्डुले अन्त्यतिर उत्कृष्ट पुनरागमन गर्दै प्लेअफ स्थान सुरक्षित गर्‍यो। उद्घाटन खेलमै जनकपुर बोल्ट्सलाई हराउँदै अभियान सुरु गरेको काठमाण्डु सुदूरपश्चिम र विराटनगरसँग भने हारिएको थियो। तर पछिल्ला चार खेल लगातार जित्दै टोलीले प्लेअफ यात्रा पक्का गर्‍यो। रनरेट कमजोर भएकाले उसले एलिमिनेटर खेल्नुपरेको हो।

उता, गत वर्ष एकमात्र खेल जितेर पुछारमा बसेको लुम्बिनी लायन्सले यसपटक पनि उतारचढावपूर्ण यात्रा गर्‍यो। चितवनलाई पराजित गर्दै राम्रो सुरुवात गरे पनि लगातार तीन हारले लुम्बिनीको यात्रा कठिन बनेको थियो। तर अन्त्यतिर डिक्वेला र सन्दीप जोरालाई मध्यक्रममा सारेर गरिएको रणनीतिक परिवर्तन सफल रह्यो र लुम्बिनी शीर्ष चारमा पर्न सफल भयो।

दुवै टोलीबीच अहिलेसम्म दुईपटक प्रतिस्पर्धा भएको छ, जसमा दुबै खेल काठमाण्डुको पक्षमा गएको छ—गत संस्करणमा १८ रनले र जारी लिगमा २२ रनले।

काठमाण्डुले लिग चरणमा ५ जित र २ हार दर्ता गरेको छ भने लुम्बिनीले ४ जित र ३ हारको नतिजा निकालेको छ।

आजको खेलका विजेताले भोलि, २५ मंसिर, विराटनगर किङ्ससँग दोस्रो क्वालिफायर खेल्नेछ। त्यसपछि २७ मंसिर, शनिबार, फाइनलमा सुदूरपश्चिम रोयल्सले प्रतीक्षा गरिरहेको छ।

Leave a Comment