सल्लाघारी ‘हाइ–सिक्योरिटी जोन’मा परिणत: एमाले महाधिवेशनका लागि २,५०० सुरक्षाकर्मी, ५०+ सिसी क्यामराको घेरा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 3 मिनेट

२७ मंसिर ,भक्तपुर ।
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन सुरु भएसँगै भक्तपुरको सल्लाघारी क्षेत्र आज बिहानैदेखि उच्च सतर्कतासहितको राजनीतिक केन्द्रमा रूपान्तरण भएको छ। नेपाल ट्रष्टको १०८ रोपनी चौरमा आयोजना गरिएको महाधिवेशनमा सहभागी हुन देशभरबाट आएका नेता, प्रतिनिधि र कार्यकर्ताको भीडले सल्लाघारी खचाखच भरिएको छ।

राति नै बस रिजर्भ गरेर आएका प्रतिनिधि तथा कार्यकर्ताको भीड गेट बाहिर देखिएपछि सुरक्षालाई प्राथमिकतामा राख्दै केही समय प्रवेश रोकिएको थियो। बिहान ११ बजेपछि भने चरणबद्ध रूपमा कार्यक्रमस्थल प्रवेश खुला गरिएको थियो।

उद्घाटनको क्षण: रिमोटबाट बत्ती, झण्डा र इतिहास

आज दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीले मञ्चमा निर्माण गरिएको चाँगुनारायण मन्दिरको प्रतिकात्मक संरचना नजिक राखिएको विद्युतीय पालालाई रिमोटमार्फत प्रज्वलन गरी महाधिवेशनको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ।
११औँ महाधिवेशनको सन्दर्भमा ११ झण्डामध्ये १० झण्डा प्रत्यक्ष फहराइने र एउटा झण्डा रिमोटबाट फहराउने विशेष तयारी गरिएको छ।

कडा सुरक्षा: कुकुर, बम डिटेक्टर र सादा पोसाक

महाधिवेशनस्थलको सुरक्षालाई ध्यानमा राख्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादा पोसाकका प्रहरी गरी २,५०० सुरक्षाकर्मी परिचालन गरिएको छ।
बम डिटेक्टर उपकरण र विस्फोटक पदार्थ पहिचान गर्न तालिमप्राप्त कुकुरसहितको टोलीले मञ्च, सभास्थल र वरपरका क्षेत्रको सूक्ष्म जाँच गरिसकेको प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले जानकारी दिए।

५० भन्दा बढी सिसी क्यामरा, निरन्तर निगरानी

मञ्च, प्रवेशद्वार, सभास्थल तथा आसपासका क्षेत्रमा ५० भन्दा बढी सिसी क्यामरा जडान गरिएको छ। ती क्यामराको निगरानी एमालेको युवा स्वयंसेवक टोली र सुरक्षाकर्मीले संयुक्त रूपमा गरिरहेका छन्। शंकास्पद गतिविधि देखिए तत्काल नियन्त्रणमा लिने तयारी गरिएको छ।

गाउँगाउँबाट र्‍याली, संस्कृतिको प्रदर्शनी

महाधिवेशनलाई राजनीतिक मात्र नभई सांस्कृतिक उत्सवका रूपमा प्रस्तुत गरिएको छ। भक्तपुरका चारवटै पालिकाबाट बाजागाजा, झाँकी र नृत्यसहित र्‍याली निकालिएको छ।
देशभरबाट आउने सहभागीहरू पूर्वतर्फ जगाती र पश्चिमतर्फ गठ्ठाघर हुँदै कार्यक्रमस्थल प्रवेश गरिरहेका छन्।

तीन लाख उपस्थितिको अपेक्षा

महाधिवेशन उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख नेता तथा कार्यकर्ता सहभागी हुने अनुमान गरिएको छ। २,२६२ महाधिवेशन प्रतिनिधि सहभागी रहनेछन्।
कार्यक्रममा २०० भन्दा बढी जातजातिको कला, संस्कृति झल्काउने झाँकी प्रस्तुत गरिनेछ भने १६ राजनीतिक दलका शीर्ष नेताले शुभकामना दिने कार्यतालिका छ।

स्वयंसेवकदेखि प्रविधिसम्म

कार्यक्रमलाई शान्तिपूर्ण बनाउन १० हजार तालिमप्राप्त स्वयंसेवक परिचालन गरिएको छ।
तीन किलोमिटर टाढासम्म सुनिने ११५ उच्च गुणस्तरका साउन्ड सिस्टम, ३० फिट अग्ला दुई एलइडी स्क्रिन र २५ हजार कुर्सीको व्यवस्थाले सल्लाघारीलाई विशाल राजनीतिक रंगमञ्चमा बदलिदिएको छ।

पार्किङ र यातायात व्यवस्था

कोटेश्वर–गठ्ठाघर क्षेत्रसम्म सवारी आवागमन खुला राखिएको छ। गठ्ठाघर र जगाती क्षेत्रमा पार्किङको व्यवस्था गरी त्यहाँबाट र्‍यालीसहित सहभागीहरू कार्यक्रमस्थल ल्याउने योजना लागू गरिएको छ।

सल्लाघारीमा आज देखिएको दृश्य केवल एक पार्टीको महाधिवेशन होइन—यो राजनीति, संस्कृति, सुरक्षा र प्रविधिको संयुक्त प्रदर्शन बनेको छ।

Leave a Comment