काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा कार्यरत गैरसरकारी संघ–संस्थाहरू (एनजीओ) ले राष्ट्रिय प्राथमिकता र जनताको वास्तविक आवश्यकताअनुसार स्रोत–साधन परिचालन गर्नुपर्ने बताएकी छन्।
समाज कल्याण परिषद्को डिजिटल सेवा शुभारम्भ कार्यक्रममा मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले राज्यको नीतिअनुसार सामाजिक तथा नागरिक संस्थाहरू सक्रिय हुनु लोकतन्त्रको सशक्त पक्ष भएको उल्लेख गरिन्।
उनले नेपालमा विभिन्न सामाजिक संघ–संस्थाहरूले विपद् व्यवस्थापन तथा राहतमा खेलेको भूमिका प्रशंसनीय रहेको बताउँदै जनसहभागिता, दिगोपना, मितव्ययिता र लक्षित वर्गमुखी कार्यक्रमलाई प्राथमिकतामा राख्न आग्रह गरिन्।
स्वयम्सेवी भावना र पारदर्शितालाई आत्मसात् गर्दै अघि बढे गैरसरकारी संस्थाहरूको सान्दर्भिकता अझ सुदृढ हुने विश्वास प्रधानमन्त्री कार्कीले व्यक्त गरिन्।






