काठमाडौँ, २८ मंसिर
नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्ने उद्देश्यले आजदेखि काठमाडौँमा बन्दसत्र सुरु हुँदैछ। शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको महाधिवेशनको औपचारिक नेतृत्व प्रक्रिया आज र भोलि भृकुटीमण्डपमा सञ्चालन हुनेछ।
एमालेले बिहान ८ बजेदेखि बन्दसत्र सुरु गर्ने तयारी गरेको छ। यही बन्दसत्रमार्फत पार्टीको आगामी कार्यदिशा र नेतृत्व संरचना तय हुने भएकाले महाधिवेशन निर्णायक चरणमा प्रवेश गरेको छ।
यसपटक पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रत्यक्ष चुनौती दिएका छन्। यद्यपि बन्दसत्र सुरु हुन लाग्दा पनि दुवै पक्षले आफ्नो-आफ्नो प्यानल औपचारिक रूपमा सार्वजनिक गरेका छैनन्।
अध्यक्ष पदका प्रत्याशी पोखरेललाई पार्टीकी पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्या भण्डारी निकट समूहको समर्थन रहेको बताइन्छ। सो समूह ‘ईश्वर–विद्या प्यानल’का रूपमा घोषणा हुने चर्चा केही समयदेखि चल्दै आएको छ।
महाधिवेशनमा देशभरबाट आएका २ हजार २ सय ६२ जना प्रतिनिधि नयाँ नेतृत्व चयन प्रक्रियामा सहभागी हुँदैछन्। एमालेको विधानअनुसार यसपटक पार्टीमा अध्यक्षसहित १५ जना पदाधिकारी रहने व्यवस्था छ।
पदाधिकारी संरचनाअनुसार अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव चयन हुनेछन्। यस्तै, केन्द्रीय कमिटीको आकार २ सय ५१ सदस्यीय हुनेछ।
नेतृत्व चयनका विषयमा सहमति वा निर्वाचनमध्ये कुन बाटो रोजिन्छ भन्ने चासोका साथ राजनीतिक वृत्तले बन्दसत्रलाई नियालिरहेको छ।

