राजीनामा नदिँदा ट्रान्सपरेन्सी नेपालद्वारा महान्यायाधिवक्ता भण्डारी निलम्बित

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२८ मंसिर ,काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले महान्यायाधिवक्ता सबिता भण्डारी बराललाई आफ्नो साधारण सदस्यताबाट अस्थायी रूपमा निलम्बन गरेको छ । सार्वजनिक पद सम्हालेपछि उनी विभिन्न विवादसँग जोडिएको भन्दै संस्थाले यो निर्णय लिएको हो ।

ट्रान्सपरेन्सी नेपालका एक कार्यसमिति सदस्यका अनुसार संस्थाको मूल्यमान्यता र विश्वासमाथि सार्वजनिक रूपमा प्रश्न उठेपछि त्यसलाई बेवास्ता गर्न नसकिने निष्कर्षमा पुगेर निलम्बन गरिएको हो । “संस्थामाथि र पदाधिकारीहरूमाथि सार्वजनिक प्रश्न उठ्दा त्यसको जवाफ दिनु हाम्रो दायित्व हुन्छ,” उनले भने, “त्यसैले हाललाई अस्थायी रूपमा यस्तो निर्णय लिएका हौं।”

कार्यसमितिका अनुसार विवाद सुरु भएपछि नै भण्डारीलाई पदबाट राजीनामा दिएर परिस्थिति सहज बनाउन सुझाव दिइएको थियो । तर उनले राजीनामा दिन अस्वीकार गरेपछि निलम्बनको विकल्प रोज्नुपरेको संस्थाको भनाइ छ ।

यद्यपि, भण्डारीले आफूमाथि उठेका विषय स्पष्ट रूपमा प्रस्ट्याएमा निलम्बनबारे पुनः विचार हुन सक्ने संकेत पनि ट्रान्सपरेन्सीले दिएको छ ।

संस्थाका अनुसार एकातर्फ भण्डारी सार्वजनिक पदमा पुगेकी थिइन् भने अर्कोतर्फ उनले संलग्न रहनुपर्ने निर्णयहरूबारे नै सार्वजनिक वृत्तमा प्रश्न उठेपछि संस्थाको निष्पक्षता र विश्वसनीयतामा असर पर्ने जोखिम देखिएको थियो ।

भ्रष्टाचारविरुद्ध अनुगमन र वकालत गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेशनलको नेपाल च्याप्टरका रूपमा ट्रान्सपरेन्सी नेपाल सक्रिय छ । वरिष्ठ अधिवक्ता समेत रहेकी भण्डारी यस संस्थाकी साधारण सदस्य मात्र होइन, यसअघि पटक–पटक कार्यसमितिमा निर्वाचित हुँदै आएकी थिइन् ।

Leave a Comment