२ पुस,काठमाडौँ — साफ महिला क्लब च्याम्पियनसिपअन्तर्गत नेपाल एपिएफ क्लब र भारतको इस्ट बङ्गाल फुटबल क्लबबीच आज लिग चरणको अन्तिम खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल साँझ ६ बजे सुरु हुनेछ।
लिग चरणको एक खेल बाँकी रहँदै दुवै टोलीले फाइनलमा स्थान सुरक्षित गरिसकेका छन्। त्यसैले आजको खेल फाइनलअघिको मनोवैज्ञानिक तयारीका रूपमा पनि हेरिएको छ।
एपिएफ र इस्ट बङ्गाल दुवै टोली प्रतियोगितामा हालसम्म अपराजित रहेका छन्। पछिल्ला तीन खेलबाट एपिएफले सात अंक बटुलेको छ भने इस्ट बङ्गालले सबै खेल जित्दै उत्कृष्ट प्रदर्शन गरिरहेको छ।
आक्रामक खेलका कारण इस्ट बङ्गालले प्रतियोगितामा अहिलेसम्म सर्वाधिक १३ गोल गरिसकेको छ। टोलीकी मुख्य स्ट्राइकर अजिला इक्वापुटले नासरिनविरुद्ध एक्लैले पाँच गोल गर्दै प्रभाव जमाएकी थिइन्, जसप्रति एपिएफको रक्षापङ्क्ति विशेष सतर्क रहनुपर्ने देखिन्छ।
यता एपिएफले पछिल्ला खेलहरूमा गोलका लागि संघर्ष गर्नुपरेको छ। पहिलो खेलमा नासरिनलाई ४–० ले पराजित गरेपछि टोलीले गोल उत्पादनमा अपेक्षित निरन्तरता देखाउन सकेको छैन। फाइनलअघि एपिएफकी अग्रपंक्तिकी खेलाडी रश्मिकुमारी घिसिङका लागि स्कोरिङ लय कायम राख्नु चुनौतीपूर्ण रहनेछ।

