दुई गोलको अग्रता जोगाउन नसक्दा मोनाकोसँग हार्‍यो लिभरपुल

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं । प्रिसिजन मैत्रीपूर्ण खेलमा लिभरपुल मोनाकोसँग ३–२ गोलले पराजित भएको छ।

दुई गोलको अग्रता बनाए पनि दोस्रो हाफमा लगातार तीन गोल खाएपछि लिभरपुल हार्न पुगेको हो।
एन्फिल्डमा भएको खेलमा लिभरपुलले सुरुवातमै प्रभावशाली प्रदर्शन गर्दै पहिलो हाफमा २–० को अग्रता बनाएको थियो। टोलीका लागि अलेक्जान्डर इसाकले खेलको १६औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए।
त्यसपछि २९औँ मिनेटमा फ्लोरियन विट्र्जले गोल थपेपछि लिभरपुल २–० ले अघि बढ्यो। तर, पहिलो हाफको अन्त्यतिर मोनाकोले खेलमा फर्किने संकेत दियो।
४४औँ मिनेटमा अलेक्जान्दर गोलोभिनले पेनाल्टीमार्फत गोल गर्दै मोनाकोको पुनरागमन सुरु गरे।
दोस्रो हाफमा मोनाकोले उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पार्‍यो। ५६औँ मिनेटमा मिका बिएरेथले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए।
खेलको अन्तिम समयतिर मोनाकोले निर्णायक गोल गर्‍यो। ८८औँ मिनेटमा पेरिस ब्रुनरले गोल गरेपछि मोनाकोले ३–२ को जित सुनिश्चित गर्‍यो।
यससँगै दुई गोलको अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा लिभरपुलले प्रिसिजनको मैत्रीपूर्ण खेलमा हार बेहोरेको छ।

Leave a Comment