चुनाव सारिँदैन’ प्रधानमन्त्री कार्कीको स्पष्ट सन्देश, १०० दिनमा खर्च कटौतीदेखि सुरक्षा सुदृढीकरणसम्म

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 3 मिनेट

५ मंसिर,काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा प्रतिनिधिसभा निर्वाचन गराउने विषयमा सरकार कुनै पनि हालतमा पछि नहट्ने स्पष्ट सन्देश दिएकी छन् । १०० दिने कार्यकाल पूरा भएको अवसरमा राष्ट्रका नाम सम्बोधन गर्दै उनले फागुन २१ गते हुने निर्वाचन निष्पक्ष, भयरहित र समयमै सम्पन्न गराउन सरकार “चट्टानझैँ दृढ” रहेको बताइन् ।

प्रधानमन्त्री कार्कीका अनुसार निर्वाचन स्थगित हुने वा सारिने हल्ला निराधार हुन् । ‘यो निर्वाचन अब एउटा सामान्य कार्यक्रम होइन, देशलाई स्थिरता र नयाँ युगतर्फ लैजाने निर्विकल्प मार्ग हो,’ उनले भनिन्, ‘सरकारले सम्पूर्ण तयारी पूरा गरिसकेको छ र सुरक्षामा कुनै सम्झौता हुँदैन।’

१०० दिनको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री कार्कीले फजुल खर्च नियन्त्रण र वित्तीय अनुशासनमा ठोस सुधार भएको दाबी गरिन् । मापदण्डविपरीत प्रयोग हुँदै आएका ५०० सुरक्षाकर्मी र सरकारी सवारी साधन फिर्ता गरी जनसेवामा लगाइएको, ३८ अनावश्यक कार्यालय खारेज गरिएको र ३२३ दरबन्दी कटौती गरेर राज्यको व्ययभार घटाइएको उनको भनाइ छ ।

उनका अनुसार एक खर्ब १९ अर्ब रुपैयाँ बराबरको बजेट पुनःप्राथमिकीकरण गरी ठूला विकास आयोजनामा सारिएको छ भने संकटमा परेका व्यवसायीका लागि ‘एकीकृत व्यावसायिक पुनरुत्थान योजना’ लागू गरिएको छ । ‘हेलो सरकार’मार्फत ५० हजारभन्दा बढी गुनासा समाधान गरिएको र काठमाडौँमा दैनिक २० करोड लिटर मेलम्चीको पानी सुनिश्चित भएको उनले जानकारी दिइन् । राष्ट्रिय प्रसारण लाइनमा थप १०१ मेगावाट विद्युत जोडिएको पनि उनले बताइन् ।

जेन–जी आन्दोलनको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले सडक आन्दोलनले उठाएका प्रश्नलाई सरकारले गम्भीर रूपमा लिएको बताइन् । ‘लोकतन्त्रको सुन्दरता नै यही हो—निकास हिंसाबाट होइन, संवाद र मतपत्रबाट खोज्नु,’ उनले भनिन् ।

सुरक्षाका दृष्टिले ‘एकीकृत निर्वाचन सुरक्षा योजना’ स्वीकृत भइसकेको, नेपाली सेनासहित सुरक्षा निकायको परिचालन सुनिश्चित गरिएको र आन्दोलनका क्रममा लुटिएका अधिकांश हतियार बरामद भइसकेको प्रधानमन्त्रीको भनाइ छ । क्षतिग्रस्त ४६५ प्रहरी कार्यालय पुनः सञ्चालनमा ल्याइएको उनले बताइन् ।

प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगका लागि ६ अर्ब ७३ करोड रुपैयाँ बजेट सुनिश्चित गरिएको र मतदाता नामावली ऐन संशोधन गरी निर्वाचन घोषणा पछि पनि ८ लाख ३७ हजार नयाँ युवालाई मताधिकार दिइएको उल्लेख गरिन् । ‘आज एक करोड ८१ लाखभन्दा बढी नेपालीको हातमा देशको भविष्यको चाबी छ,’ उनले भनिन् ।

भदौ २३ र २४ का घटनापछि देश पुनः शान्तिको बाटोमा फर्किएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले सहिद घोषणा, घाइतेको उपचार र जीविकोपार्जनको व्यवस्था अघि बढाइएको जानकारी दिइन् । क्षतिग्रस्त संरचनाको पुनर्निर्माण ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’मार्फत सुरु भइसकेको छ ।

भ्रष्टाचारविरुद्ध सरकार निर्ममतापूर्वक अघि बढेको दाबी गर्दै प्रधानमन्त्री कार्कीले शक्तिशाली व्यक्ति वा पदको आडमा कसैलाई पनि कानुनले उन्मुक्ति नदिने स्पष्ट पारिन् । ‘ठेक्कामा मिलेमतो गर्ने, काम नगरी राज्यको स्रोत दुरुपयोग गर्नेको माखेसाङ्लो तोडिन्छ,’ उनले भनिन् ।

अन्त्यमा प्रधानमन्त्री कार्कीले विशेषगरी जेन–जी युवालाई मतपत्रमार्फत आफ्नो आवाज बुलन्द गर्न आग्रह गरिन् । ‘सडकले प्रश्न उठाउँछ, मतपत्रले समाधान दिन्छ,’ भन्दै उनले निर्वाचनलाई लोकतन्त्र, सुशासन र राष्ट्रिय एकताको साझा अभियानका रूपमा लिन सबैलाई आह्वान गरिन् ।

Leave a Comment