टेक्सासमा मेक्सिकन सैन्य विमान दुर्घटनाग्रस्त, मानवीय मिसनमै ५ जनाको ज्यान गयो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं/टेक्सास, पुस ८ — अमेरिकाको टेक्सास राज्यमा मानवीय उद्देश्यका लागि उडिरहेको मेक्सिकन नौसेनाको एक विमान दुर्घटनामा परेको छ । दुर्घटनामा कम्तीमा पाँच जनाको मृत्यु भएको मेक्सिकोको रक्षा मन्त्रालय अन्तर्गतको सेना सचिवालयले पुष्टि गरेको छ ।

चिकित्सा सामग्री बोकेर गम्भीर जलेका बालबालिकाको उपचारका लागि परिचालन गरिएको उक्त विमानमा आठ जना सवार थिए । सुरुवाती विवरणमा दुई जनाको मृत्यु भएको भनिए पनि पछि मृतक संख्या पाँच पुगेको हो । दुर्घटनामा दुई जना भने जीवितै उद्धार भएका छन् ।

अमेरिकी तटरक्षकद्वारा व्यापक खोजी प्रयास भइरहे पनि विमानमा सवार एक जना अझै बेपत्ता रहेको जनाइएको छ ।

ग्यालभेस्टन नजिक दुर्घटना

विमान टेक्सासको ग्यालभेस्टन क्षेत्र नजिक पुग्दा दुर्घटनाग्रस्त भएको बताइएको छ । फ्लाइट ट्र्याकिङ वेबसाइट ‘फ्लाइटरडार’ का अनुसार विमानले मेक्सिकोको युकाटन राज्यस्थित मेरिडा शहरबाट उडान भरेको थियो र अन्तिम पटक स्कोल्स अन्तर्राष्ट्रिय विमानस्थल आसपासको क्षेत्रमा देखिएको थियो ।

विशेष मानवीय उडान

उक्त उडान मेक्सिकन फाउन्डेसनसँगको समन्वयमा सञ्चालन गरिएको विशेष चिकित्सा मिसन थियो, जसले गम्भीर रूपमा जलेका बालबालिकाको उपचार व्यवस्थापनमा काम गर्दै आएको छ । दुर्घटनाको कारणबारे भने तत्काल कुनै आधिकारिक विवरण सार्वजनिक गरिएको छैन ।

अमेरिकी र मेक्सिकन अधिकारीहरूले संयुक्त रूपमा घटनाको अनुसन्धान सुरु गरेका छन् ।

Leave a Comment