ग्रामथानमा शक्ति संघर्ष सतहमै : अध्यक्ष–उपाध्यक्षबीच सडकमै चर्काचर्की

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

९ पुस,विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा आन्तरिक राजनीतिक द्वन्द्व सार्वजनिक रूपमै देखिएको छ । गाउँपालिका अध्यक्ष नोमनारायण माझी र उपाध्यक्ष गुणवतीदेवी थारुबीच सरकारी गाडी प्रयोगको विषयलाई लिएर बुधबार विराटनगरको मुख्य सडकमै चर्काचर्की भएको हो ।

पार्टी कार्यक्रमका लागि विराटनगर पुगेकी उपाध्यक्ष थारुले अध्यक्ष माझीले प्रयोग गरिरहेको सरकारी गाडी देखेपछि चालकबाट चाबी खोसेपछि विवाद सुरु भएको बताइएको छ । सोही गाडी लिएर अध्यक्ष माझी जिल्ला प्रशासन कार्यालय पुगेका थिए । चाबी खोसिएपछि स्थिति तनावग्रस्त बनेको थियो ।

विवाद चुलिँदै जाँदा अध्यक्ष माझी र एमाले समर्थक कार्यकर्ताबीच हात हालाहालको अवस्था समेत सिर्जना भएको थियो । स्थानीयको पहलपछि थप झगडा हुनबाट रोकिएको जनाइएको छ ।

यसअघि पनि ग्रामथान गाउँपालिकामा यस्तै विवाद दोहोरिँदै आएको छ । गत फागुनमा अध्यक्ष माझीले उपाध्यक्ष र वडाध्यक्षको सवारी साधन नियन्त्रणमा लिएका थिए । त्यसयता अधिकांश जनप्रतिनिधि निजी सवारी प्रयोग गर्न बाध्य छन् ।

उपाध्यक्ष थारुले भने कार्यकर्तासहित आएको कारण गाडी रोकेको दाबी गरिन् । उनका अनुसार सरकारी सवारी साधनको दुरुपयोग रोक्न आफूले हस्तक्षेप गर्नुपरेको थियो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जिल्ला प्रशासन कार्यालय बाहिर विवाद भए पनि दुबै पक्ष कार्यालयभित्र प्रवेश नगरेको जानकारी दिए ।
‘उहाँहरूको झगडाको दृश्य बाहिर देखियो, तर कार्यालयमा कुनै औपचारिक छलफल भएन,’ उनले भने, ‘गाउँपालिकामै छलफल गर्ने भन्दै फर्किनु भयो ।’

गत मंसिरको उपनिर्वाचनमा माओवादी केन्द्रबाट अध्यक्ष निर्वाचित माझीले एमाले बहुमत रहेको गाउँपालिकामा सहकार्यको अभावका कारण बारम्बार अवरोध सिर्जना भएको गुनासो गरेका छन् । उनले आफू जनताको सेवाका लागि पदमा आएको भन्दै काम गर्न नदिने प्रवृत्ति देखिएको आरोप लगाए ।

‘गाउँसभा बोलाउँदा नोट अफ डिसेन्ट लेखिन्छ, बैठकमा आउँदैनन्,’ अध्यक्ष माझीले भने, ‘म भत्ता खान अध्यक्ष बनेको होइन, जनताको काम गर्न आएको हुँ । तर काम गर्न खोज्दा रोकावट हुन्छ ।’

अध्यक्ष माझीले उपाध्यक्ष र वडाध्यक्षको अधिकार सम्मान गर्ने प्रतिबद्धता जनाउँदै सबै विवाद गाउँसभामै छलफल गरेर समाधान गर्न आग्रह गरेका छन् ।
उनले भने, ‘सडकमा झगडा गरेर होइन, संस्थागत रूपमा बसेर समस्याको समाधान खोज्नुपर्छ ।’

Leave a Comment