१० पुस,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग प्रधानमन्त्री उम्मेदवारको विषयमा सहमति नजुटेपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नै राजनीतिक दलमार्फत अघि बढ्ने तयारी तीव्र बनाएका छन्।
लौरो चुनाव चिह्नसहित निर्वाचन आयोगमा दर्ता भइसकेको देश विकास पार्टी को नेतृत्व आफूले सम्हाल्ने निष्कर्षमा बालेन पुगेका हुन्। बुधबार निकटस्थहरूसँगको लामो छलफलमा उनले अब आफ्नो राजनीतिक भविष्य आफ्नै पार्टीमार्फत तय गर्ने संकेत दिएका छन्।
शक्ति बाँडफाँटमै अड्कियो सहकार्य
सोमबार राति बालेन र रविबीच करिब ६ घण्टा लामो छलफल भए पनि शक्ति बाँडफाँट र भावी नेतृत्वको विषयमा सहमति बन्न सकेन। बालेन पक्षका अनुसार सहकार्यको सर्त स्पष्ट थियो—आगामी निर्वाचनमा आफूलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिनुपर्ने।
तर, रविले सो प्रस्तावमा सकारात्मक प्रतिक्रिया नदिएको र बरु पार्टीमा साधारण सदस्य भएर प्रवेश गर्न सुझाव दिएको भन्दै बालेन असन्तुष्ट बनेका छन्। त्यसपछि रविले चितवनमा दिएको सार्वजनिक अभिव्यक्तिले बालेनको अविश्वास अझ गहिरिएको उनका निकटस्थहरू बताउँछन्।
‘भित्र एउटा, बाहिर अर्को’
निकटस्थहरूका अनुसार रविले निजी छलफलमा फरक र सार्वजनिक रूपमा फरक कुरा बोलेको महसुस भएपछि बालेन निष्कर्षमा पुगे—“विश्वास गरेर अघि बढ्न सकिने अवस्था रहेन।”
यही कारण उनले रास्वपासँग संवाद खुला राख्दै पनि आफ्नो पार्टीलाई बलियो बनाउने रणनीति अपनाएका छन्।
प्रत्यक्ष निर्वाचित कार्यकारीको विपक्षमा
छलफलका क्रममा बालेनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली नेपालको भूराजनीति र लोकतान्त्रिक संरचनाका लागि जोखिमपूर्ण हुने धारणा पनि राखेका छन्। संविधानभित्रै रहेर सुशासन र विकासमा केन्द्रित राजनीति गर्ने उनको जोड छ।
“असीमित अधिकार एक व्यक्तिमा केन्द्रित हुँदा के हुन सक्छ भन्ने कुरा मैले महसुस गरेँ,” बालेनको भनाइ उद्धृत गर्दै एक सहयोगीले बताए।
देश विकास पार्टीलाई नयाँ उचाइमा लैजाने तयारी
बुधबार बालेनले काठमाडौंमा करिब ९ घण्टा विभिन्न राजनीतिक, आर्थिक र सामाजिक व्यक्तित्वहरूसँग एकल तथा सामूहिक छलफल गरेका छन्। उनले सम्भावित सहयोग, सहकार्य र संगठन विस्तारबारे जिज्ञासा राखेका थिए।
देश विकास पार्टीका नेताहरूका अनुसार बालेन पार्टीमा सक्रिय भएमा नेतृत्व जिम्मेवारी दिन कुनै अप्ठेरो छैन। समानुपातिक उम्मेदवारको सूची तयारीसमेत सुरु भइसकेको बताइएको छ।
रास्वपासँग ढोका पूर्ण रूपमा बन्द छैन
यद्यपि, बालेनले रास्वपासँग सहकार्यको सम्भावना पूर्ण रूपमा अस्वीकार गरिसकेका छैनन्। “आफ्नो तयारी गरौँ, तर ढोका बन्द नगरौँ,” भन्ने उनको धारणा रहेको निकटस्थहरू बताउँछन्।
राजनीतिक समीकरण तीव्र गतिमा बदलिँदै जाँदा बालेनको आगामी कदमले नेपाली राजनीतिमा नयाँ ध्रुवीकरण ल्याउने संकेत देखिएको छ।

