कोल्हवीबाट अफिमजस्तो पदार्थसहित तीन जना पक्राउ

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१२ पुस,बारा । बारा जिल्लाको कोल्हवी नगरपालिकाबाट लागू औषध अफिमजस्तो देखिने पदार्थसहित तीन जना व्यक्ति पक्राउ परेका छन्।

मिति २०८२ पुस १२ गते दिउँसो करिब ३:३० बजे इलाका प्रहरी कार्यालय कोल्हवी, बारा र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्ज, पर्साबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा कोल्हवी नगरपालिका वडा नम्बर–१ स्थित बजार क्षेत्रको तामागढीबाट श्रीपुरतर्फ जाँदै गरेको प्र.२–०३–००५ प ६३१२ नम्बरको TVS मोटरसाइकललाई शंकास्पद देखी रोकेर जाँच गरेको थियो।

जाँचका क्रममा मोटरसाइकलमा सवार राजेश साहको साथबाट लुकाइछिपाइ राखिएको ४६० ग्राम लागू औषध अफिमजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त लागू औषध ओसारपसार कार्यमा संलग्न रहेको आशंकामा मोटरसाइकलसहित तीन जनालाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर–१० निवासी ३२ वर्षीय राजेश साह, सोही स्थानका २९ वर्षीय नागेन्द्र साह र २२ वर्षीय ज्ञानेन्द्र राम रहेका छन्।

घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

Leave a Comment