रवि–कुलमान–बालेन सहकार्यमा रास्वपा–उज्यालो नेपाल एकीकरण, सिट र पदमा स्पष्ट बाँडफाँट

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच अन्ततः एकीकरणको सहमति भएको छ। निर्वाचन आयोगमा समानुपातिक बन्द सूची बुझाउने अन्तिम क्षणमा शीर्ष नेताहरूबीच भएको वार्ताले राजनीतिक शक्ति सन्तुलनसहितको समझदारी जुटाएको हो।

सोमबार रास्वपाका सभापति रवि लामिछाने, उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र बालेन्द्र शाहबीच भएको छलफलपछि सात बुँदे सहमति भएको बताइएको छ। सहमतिमा पार्टी नेतृत्व, केन्द्रीय कमिटी र आगामी निर्वाचनका उम्मेदवार बाँडफाँट स्पष्ट गरिएको छ।

सहमति अनुसार उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ रास्वपाको रविपछिको दोस्रो वरियतासहित वरिष्ठ उपसभापति बन्नेछन्। साथै, रास्वपाको महामन्त्री पद पनि उज्यालो नेपालबाटै चयन गरिने भएको छ। केन्द्रीय कमिटीमा उज्यालो नेपालले ३० प्रतिशत सहभागिता पाउने सहमति भएको छ।

निर्वाचनतर्फ प्रतिनिधि सभामा उज्यालो नेपाललाई प्रत्यक्षतर्फ ३० प्रतिशत र समानुपातिकतर्फ २० प्रतिशत उम्मेदवारी दिने समझदारी बनेको छ। अब रास्वपा, उज्यालो नेपाल र बालेन पक्षलाई समेटेर समानुपातिकको एउटै बन्द सूची निर्वाचन आयोगमा बुझाइने भएको छ।

यसअघि दुवै पार्टीले आ–आफ्नै सूची बुझाउने तयारी गरेका थिए। तर अन्तिम समयमा तीन शीर्ष नेताबीच सहमति जुटेपछि एकीकरणको बाटो खुलेको हो।

पार्टी एक भए पनि तत्कालका लागि पार्टीको नाम, झण्डा र चुनाव चिन्ह राष्ट्रिय स्वतन्त्र पार्टीकै रहनेछ। यद्यपि, चुनावी प्रचार सामग्रीमा ‘उज्यालो नेपाल – राष्ट्रिय स्वतन्त्र पार्टी’ उल्लेख गरिनेछ। यसका लागि निर्वाचन आयोगमा रास्वपाका दस्तावेज अद्यावधिक गरिने तयारी छ।

यो सहमतिसँगै रास्वपाभित्रको आन्तरिक वरियता पनि फेरिएको छ। हालका उपसभापति डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले क्रमशः चौथो र पाँचौँ वरियतामा पुगेका छन्।

यसअघि नै बालेन्द्र शाहलाई संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने सहमति भइसकेको छ। सहमतिअनुसार उनको वरियता कुलमान घिसिङपछि रहनेछ।

सहमति पत्रमा रास्वपाका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् भने बालेन्द्र शाह साक्षीका रूपमा रहेका छन्।

Leave a Comment