१५ पुस, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गतको बन्दसूची अन्ततः निर्वाचन आयोगमा बुझाएको छ। सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई आयोगले सुरुमा मान्यता नदिँदा कांग्रेस निर्धारित समयमै सूची बुझाउन असफल भएको थियो।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार साढे ११ बजेपछि आयोगमा ११० जनाको नाम समावेश गरिएको बन्दसूची बुझाएको कांग्रेस स्रोतले जनाएको छ। निर्वाचन आयोगले पुस १३ र १४ गतेभित्र समानुपातिक उम्मेदवारको सूची पेश गर्न दलहरूलाई समयसीमा दिएको थियो।
कांग्रेसले यसपटकको बन्दसूचीमा २०६४ सालदेखि समानुपातिक सांसद भइसकेका नेताहरूलाई समावेश नगर्ने निर्णय गरेको छ। नयाँ अनुहारलाई प्राथमिकता दिने नीति अनुसार सूची तयार गरिएको जनाइएको छ।
प्रदेशगत रूपमा कोसी प्रदेशबाट १८, मधेश प्रदेशबाट २१, बागमतीबाट २२, गण्डकीबाट ११, लुम्बिनीबाट १७, कर्णालीबाट १० र सुदूरपश्चिम प्रदेशबाट १० जना उम्मेदवार बन्दसूचीमा समेटिएका छन्।
ढिलाइ भए पनि अन्ततः बन्दसूची बुझाएसँगै कांग्रेसको समानुपातिकतर्फको उम्मेदवार प्रक्रिया औपचारिक रूपमा टुंगिएको छ।

