रौतहटमा एलपी ग्यास बुलेट पल्टिँदा पूर्व–पश्चिम राजमार्ग ठप्प, आगलागीको उच्च जोखिम

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१५ पुस, काठमाडौं।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्डमा एलपी ग्यास बोकेको बुलेट पल्टिएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। ग्यास चुहावट भइरहेकाले सम्भावित आगलागीको जोखिम बढेपछि सुरक्षाका लागि सवारी आवागमन रोकिएको प्रहरीले जनाएको छ।

मंगलबार बिहान करिब ७ः५० बजे पूर्वतर्फ जाँदै गरेको यूपी १७ ए २१४ नम्बरको एलपी ग्यास बुलेट अनियन्त्रित भई सडकमै तर्सो परेर दुर्घटनामा परेको हो। दुर्घटनामा बुलेटका चालक सामान्य घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बुलेटबाट निरन्तर ग्यास लिक भइरहेकाले ठूलो दुर्घटना हुनसक्ने जोखिम छ। त्यसैले दमकल बोलाइनुका साथै बुलेट हटाउन क्रेनको व्यवस्था गरिएको छ। सुरक्षाका कारण राजमार्गमा सवारी साधन चलाउन पूर्णरूपमा रोक लगाइएको छ।

प्रहरीले यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। दुर्घटना जंगल क्षेत्रमा भएकाले नजिकै बस्ती नरहे पनि स्थिति पूर्ण रूपमा नियन्त्रणमा नआएसम्म राजमार्ग सञ्चालनमा नआउने इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

Leave a Comment