१६ पुस,सर्लाही । नेपाली कांग्रेस सर्लाहीले समानुपातिक सांसद सिफारिसको विषयमा गम्भीर असन्तुष्टि जनाउँदै पार्टी केन्द्रीय कार्यसमितिको ध्यानाकर्षण गराएको छ। नेपाली कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीले केन्द्रीय कार्यसमिति सानेपा, ललितपुरलाई पत्र पठाउँदै समानुपातिक सदस्य सिफारिस प्रक्रिया आश्चर्यजनक र संगठनलाई कमजोर बनाउने खालको रहेको उल्लेख गरेको हो।
पत्रमा प्रतिनिधिसभा निर्वाचन–२०८२ अन्तर्गत निर्वाचन आयोगमा बुझाइएको समानुपातिक सदस्यतर्फको सूचीप्रति जिल्ला कांग्रेस स्तब्ध भएको जनाइएको छ। विशेषगरी सर्लाही जिल्लाबाट समानुपातिकतर्फ सिफारिस गरिएका मो. असगर खाँ कुनै पनि पार्टी समितिबाट सिफारिस नभएको, लामो समयदेखि भारतको लुधियानामा व्यापार गर्दै आएका व्यक्ति भएको दाबी गरिएको छ।
जिल्ला कांग्रेसका अनुसार विगत २०–२५ वर्षदेखि जिल्लामा संगठन निर्माणमा खटिएका, त्याग र योगदान गरेका कार्यकर्तालाई बेवास्ता गर्दै बाहिरी व्यक्तिलाई सिफारिस गर्नु अन्यायपूर्ण भएको छ। यस किसिमको निर्णयले जिल्लामा पार्टी संगठन विस्तारमा अहोरात्र खटिएका कार्यकर्ताको आत्मबल गिराएको र संगठनभित्र निराशा तथा विभाजनको अवस्था सिर्जना भएको पत्रमा उल्लेख छ।
पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको वर्तमान परिस्थितिमा यस्तो निर्णयले पार्टी संगठन थप कमजोर हुने सर्लाही कांग्रेसको चेतावनी छ। साथै, दिन–रात पार्टीका लागि समर्पित कार्यकर्ताको भावनालाई कुल्चिँदै पैसाका भरमा नाम सिफारिस हुनु गम्भीर विषय भएको उल्लेख गरिएको छ।
सर्लाही कांग्रेसले उक्त नामावली तत्काल संशोधन गर्न र आगामी दिनमा बाहिरी अवसरवादी व्यक्तिहरूलाई पहिचान गरी संगठनमा योगदान पुर्याएका, लामो समयदेखि सक्रिय कार्यकर्तालाई प्राथमिकताका आधारमा सिफारिस गर्न केन्द्रीय समितिसँग जोडदार माग गरेको छ।
उक्त पत्र जिल्ला कार्यसमिति सर्लाहीका सभापति डा.सरोज कुमार हस्ताक्षरसहित केन्द्रीय तथा मधेश प्रदेश कार्यसमितिलाई बोधार्थ पठाइएको छ।

