कलैया, बारा । २०८२ पुष १९ गते, शनिबार —
कलैया उपमहानगरपालिका वडा नम्बर ४ मा पूर्व वडाध्यक्षका छोरा ओमप्रकाश सहनीमाथि अज्ञात समूहले चक्कु प्रहार गर्दा उनी गम्भीर घाइते भएका छन्।
परिवारजनका अनुसार शनिबार दिउँसो वडा कार्यालय नजिकै सहनीमाथि फिल्मी शैलीमा अनाधुन्ध चक्कु प्रहार गरिएको हो। आक्रमणकारीहरूले शरीरका विभिन्न भागमा चक्कु प्रहार गरी मोटरसाइकल घटनास्थलमै छाडेर फरार भएको बताइएको छ।
घटनापछि गम्भीर घाइते भएका सहनीलाई तत्काल प्रादेशिक अस्पताल कलैयामा भर्ना गरिएको थियो। हाल उनको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि बिरगंज लैजाने तयारी भइरहेको पूर्व वडाध्यक्ष मिश्री जट्टाशंकर सहनीले जानकारी दिए।
पूर्व वडाध्यक्ष सहनीका अनुसार उनका छोरा हाल वान्ता गरिरहेको अवस्था छ। उनले सामाजिक सञ्जालमार्फत ‘सरकार ग्याङ चलाउने’ भनेर चिनिएका व्यक्तिहरूबाट नै आक्रमण भएको दाबी गरेका छन्। तर उक्त दाबीको आधिकारिक पुष्टि भइसकेको छैन।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको छ। आक्रमणकारीको खोजी तथा घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरीले जनाएको छ। हालसम्म आक्रमणको स्पष्ट कारण खुल्न सकेको छैन।







