काठमाडौँ, आइतबार २० पुस २०८२
उदयपुर जिल्लाको बागापाटी आसपास केन्द्रविन्दु भएर आइतबार राति भूकम्प गएको छ। भूकम्प मापन तथा अनुसन्धान केन्द्र, काठमाडौंका अनुसार राति १० बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो।
केन्द्रका विज्ञ राजेश शर्माले भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन गरिएको जानकारी दिए। भूकम्पको प्रभाव उदयपुर मात्र नभई आसपासका जिल्लामा समेत परेको जनाइएको छ।
भूकम्पपछि स्थानीय बासिन्दा त्रसित बनेका थिए। यद्यपि हालसम्म मानवीय वा ठूला भौतिक क्षतिको विवरण प्राप्त नभएको सम्बन्धित निकायले जनाएको छ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकाय तथा स्थानीय प्रशासनले अवस्था अनुगमन गरिरहेको बताइएको छ। भूकम्पपछिका परकम्पबारे पनि निगरानी जारी रहेको जनाइएको छ।






