बारा/पर्सा, पुस २२
जिल्ला प्रशासन कार्यालयले जारी गरेको कर्फ्यू आदेशको अवधि बढाइएको छ। शान्ति–सुरक्षा कायम राख्न कर्फ्यूलाई अर्को सूचना जारी नभएसम्म निरन्तरता दिइने प्रशासनले जनाएको छ।
प्रशासनद्वारा जारी सूचनाअनुसार कर्फ्यू लागू रहेको समयमा एम्बुलेन्स, दमकल, खानेपानी, विद्युत्, सञ्चार, स्वास्थ्य सेवा, सरसफाइ तथा अन्य अत्यावश्यक सेवामा प्रयोग हुने सवारीसाधनलाई आवश्यक कागजातका आधारमा आवागमन गर्न सहजीकरण गरिने छ।
जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेशको पूर्ण पालना गर्न सर्वसाधारणलाई आग्रह गर्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरेको छ। शान्ति–सुरक्षा कायम गर्न सुरक्षा निकायलाई परिचालन गरिएको र आदेश उल्लङ्घन गर्ने जो–कोहीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।
प्रशासनका अनुसार कर्फ्यू आदेश अर्को सूचना जारी नभएसम्म लागू रहनेछ।







