काठमाडौं, २ माघ — काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले माघ ४ गतेदेखि लागू हुने गरी पदत्याग गरेको जानकारी दिएका हुन्।
राजीनामाबारे अनलाइनखबरसँग कुरा गर्दै पाण्डेले माघ ३ गतेसम्म आफू औपचारिक रूपमा जिम्मेवारीमा रहने बताए। “चार गतेदेखि लागू हुने गरी राजीनामा दिएको हुँ, तीन गतेसम्म बहाल रहन्छु,” उनले भने।
स्रोतका अनुसार पाण्डे आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारीका साथ सक्रिय राजनीतिमा प्रवेश गर्न लागेका छन्। फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै उनले प्रशासनिक जिम्मेवारीबाट अलग हुने निर्णय लिएको बताइएको छ।
महानगर प्रहरी बलको नेतृत्व सम्हाल्दासम्म शहरी सुरक्षा, ट्राफिक व्यवस्थापन र अनुशासनमा सुधारका लागि उनले विभिन्न पहल गरेका थिए। उनको राजीनामापछि महानगर प्रहरी नेतृत्वमा नयाँ जिम्मेवारी कसलाई दिइने भन्ने विषयमा चासो बढेको छ।

