३ माघ २०८२, शनिबार | काठमाडौं
आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटका लागि नेपाली पुरुष क्रिकेट टोली औपचारिक रूपमा बिदाइ भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै टोलीलाई विश्वकप यात्राका लागि शुभकामना सहित बिदाइ गरेको हो।
विश्वकपअघि श्रीलंका र भारतमा अभ्यास खेल खेल्ने तालिका रहेकाले नेपाली टोलीलाई आजै बिदाइ गरिएको क्यानले जनाएको छ। टोली आइतबार विदेश प्रस्थान गर्नेछ।
बिदाइ कार्यक्रममा क्यानका सचिव पारस खड्काले नेपाली टोलीले पछिल्लो समय देखाएको प्रगति उत्साहजनक रहेको उल्लेख गर्दै विश्वकपमा राम्रो प्रदर्शनको अपेक्षा व्यक्त गरे। “यो प्रतियोगिता विश्वभर हेरिने मञ्च हो। खेलाडी र व्यवस्थापन टिमले राम्रो तयारी गरिरहेका छन्,” उनले भने, “भारतमा नेपाली समर्थकको साथ पनि मजबुत रहने विश्वास छ।”
टोलीका कप्तान रोहित पौडेलले तयारी सन्तोषजनक रहेको बताए। अभ्यास खेलहरूले टोलीलाई राम्रो लयमा ल्याएको उनको भनाइ छ। “पछिल्लो वर्ष हाम्रो प्रदर्शन निकै सकारात्मक रह्यो,” उनले भने, “यो वर्ष पनि त्यही निरन्तरता कायम गर्दै नेपालीलाई गर्व गराउने प्रयास गर्नेछौं।”
मुख्य प्रशिक्षक स्टुअर्ट लले अभ्यासका क्रममा रणनीतिलाई अन्तिम रूप दिने र विश्वकपमा प्रतिस्पर्धात्मक प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। “हामी योजनाबद्ध रूपमा अघि बढिरहेका छौं,” उनले भने, “राम्रो खेलमार्फत सम्पूर्ण नेपालीलाई खुसी दिनेछौं।”
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले टोलीको तयारी र मनोबल दुवै बलियो देखिएको बताए। “भारतको कन्डिसन हाम्रो लागि अनुकूल छ,” उनले भने, “टोलीले राम्रो प्रदर्शन गर्नेमा ढुक्क छु।”
नेपाली टोलीले विश्वकपको समूह चरणमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटलीसँग प्रतिस्पर्धा गर्नेछ। त्यसअघि श्रीलंकामा श्रीलंका ‘ए’ टोलीसँग र भारतमा मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग अभ्यास खेल खेल्दै विश्वकप तयारीलाई अन्तिम रूप दिने कार्यक्रम रहेको छ।
रोहित पौडेलको कप्तानीमा नेपाली टोली विश्व क्रिकेटको ठूलो मञ्चमा फेरि एकपटक आफ्नो पहिचान बलियो बनाउने लक्ष्यसहित मैदान उत्रिँदैछ।

