कांग्रेस आधिकारिकता विवाद सर्वोच्च पुग्यो, देउवा समूहद्वारा निर्वाचन आयोगविरुद्ध रिट

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, ४ माघ २०८२
नेपाली कांग्रेसभित्र चर्किएको आधिकारिकता विवाद अब सर्वोच्च अदालतसम्म पुगेको छ। पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको हो।

विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको नयाँ कार्यसमिति चयन भई निर्वाचन आयोगले सोही समितिलाई आधिकारिकता दिएपछि देउवा समूह अदालत जाने निष्कर्षमा पुगेको हो। आयोगको निर्णय खारेज गरी देउवा सभापति रहेको समितिलाई नै वैधानिक मान्यता दिन माग गर्दै रिट दायर गरिएको जनाइएको छ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार दायर भएको रिट निवेदन हाल दर्ता प्रक्रियामा छ। ‘रिट दर्ता भएपछि मात्रै पेसीको मिति तय हुनेछ,’ उनले बताए।

रिट दायर गर्न तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेसका वरिष्ठ नेताहरू सर्वोच्च अदालत पुगेका थिए। खड्कासँगै विमलेन्द्र निधि, प्रकाशमान सिंह, मीनबहादुर विश्वकर्मालगायत नेताहरू अदालत पुगेको स्रोतले जनाएको छ।

यद्यपि कांग्रेसभित्रकै अर्को समूह, शेखर कोइराला पक्ष भने यस मुद्दामा तत्काल अदालत नगएको देखिएको छ। विशेष महाधिवेशनप्रति असहमति जनाउँदै आएका शेखर पक्षका नेताहरू रिटमा सहभागी नभएका हुन्। शेखर कोइरालाले आफ्ना पक्षका नेताहरूको छुट्टै भेला बोलाएका छन्, जुन आजै दिउँसो १ बजे बस्ने कार्यक्रम रहेको छ।

कांग्रेसको आन्तरिक विवाद अदालत पुगेसँगै यसको असर समग्र राजनीति र आगामी चुनावी प्रक्रियामा पर्न सक्ने अनुमान गरिएको छ। अब सर्वोच्च अदालतको निर्णयले कांग्रेसको नेतृत्व संरचना र वैधानिकतामा निर्णायक मोड ल्याउने देखिन्छ।

Leave a Comment