मङ्गलबार, चैत ३, २०८२-काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रम आजबाट सुरु भएको छ। ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा आयोजित कार्यक्रमको उद्घाटन उपसभापतिद्वय डोलप्रसाद (डीपी) अर्याल र डा. स्वर्णिम वाग्लेले घण्टी बजाएर गरेका हुन्।
कार्यक्रम सुरु हुँदासम्म पार्टी सभापति र वरिष्ठ नेता उपस्थित नभएको जानकारी दिइएको छ। उपसभापति अर्यालका अनुसार स्वास्थ्य र कार्यव्यस्तताका कारण उनीहरू पहिलो दिन सहभागी हुन सकेनन्।
अभिमुखीकरण कार्यक्रममा प्रत्यक्षतर्फ निर्वाचित १२५ र समानुपातिकतर्फका ५७ गरी १८२ सांसद सहभागी छन्। कार्यक्रम बुधबारसम्म चल्ने र यसमा पार्टी नेतृत्व तथा विषयविज्ञहरूले विभिन्न विषयमा प्रस्तुति दिने जनाइएको छ।
‘इतिहास लेख्ने अवसर’ — अर्याल
उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपसभापति अर्यालले सांसदहरूलाई जनताले दिएको अवसरलाई सही ढंगले उपयोग गर्न आग्रह गरे।
उनले भने, “यो इतिहास लेख्ने सुवर्ण अवसर हो। यदि हामीले यसलाई सदुपयोग गर्न सकेनौं भने आफूलाई माफ गर्न गाह्रो हुनेछ।”
अर्यालले अनुशासित समाज निर्माणको आवश्यकता औंल्याउँदै अस्पताल, विद्यालय वा अन्य सेवामा नेताको पहुँच खोज्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए। साथै, वर्तमान राजनीतिक परिस्थिति गम्भीर रहेको उल्लेख गर्दै सांसदहरूलाई इमानदारिता र क्षमताका साथ काम गर्न आग्रह गरे।
वाचापत्र दोहोर्याएर पढ्न सुझाव
उपसभापति डा. स्वर्णिम वाग्लेले सांसदहरूलाई आफ्नो भूमिका स्पष्ट रूपमा बुझ्न र अध्ययनमा जोड दिन आग्रह गरे।
उनले भने, “हामी विधायक हौं, हाम्रो मुख्य काम कानुन बनाउनु हो।”
वाग्लेले सांसदहरूलाई पार्टीको वाचापत्र पुनः अध्ययन गर्न, सरकारको कामको प्रभावकारी अनुगमन गर्न र जनताका मुद्दा सशक्त रूपमा उठाउन निर्देशन दिए। साथै, प्रणाली सुधार र सुशासन स्थापना गर्न गम्भीर भएर लाग्नुपर्नेमा उनले जोड दिए।
रास्वपाले फागुन २१ को निर्वाचनमा प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट जित्दै ठूलो संसदीय उपस्थिति बनाएको छ।

