आज सांस्कृतिक उत्सव, फागुन ६ गते मात्रै घरघरमा पूजा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

सोनाम ल्होछारका कार्यक्रम एक महिना फरक–फरक मितिमा

काठमाडौं, माघ ५ — तामाङ समुदायले मनाउने सोनाम ल्होछारका अवसरमा आज काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ। सार्वजनिक बिदा परेकाले आज सामूहिक रूपमा सांस्कृतिक महोत्सव र झाँकी प्रदर्शनमा केन्द्रित कार्यक्रमहरू गरिएका हुन्।

तर तामाङ समुदायको परम्परागत मञ्जुश्री पात्रो अनुसार सोनाम ल्होछार अर्थात् नयाँ वर्ष भने यस वर्ष एक महिना पछि मात्रै सुरु हुने भएको छ। चन्द्रपात्रो परम्परा अनुसार मलमास परेकाले ल्हो फेर्ने मुख्य दिन फागुन ६ गते परेको नेपाल तामाङ घेदुङले जनाएको छ।

घेदुङका अनुसार आज औपचारिक तथा सांस्कृतिक कार्यक्रम मात्रै आयोजना गरिएका छन् भने घरघरमा गरिने पूजा, पुजापाठ र विधिविधान भने फागुन ६ गते मात्रै हुनेछ। यस वर्ष सर्प वर्षको विदाइ गर्दै ता (घोडा) वर्षको स्वागत गरिँदैछ।

नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले पञ्चाङ्ग निर्धारण गर्दा सरोकारवाला समुदायसँग पर्याप्त छलफल नगर्दा प्रत्येक वर्ष यस्ता समस्या दोहोरिने गरेको बताए। पञ्चाङ्गलाई समावेशी बनाउन सरकारलाई पटक–पटक आग्रह गरिए पनि अझै सुनुवाइ नभएको उनको गुनासो छ।

सोनाम ल्होछार मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षे चक्रमा आधारित हुन्छ। तामाङसहित हिमाली समुदायले मनाउने यो नयाँ वर्ष नेपाल मात्र नभई चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया र सिंगापुरलगायत देशहरूमा पनि मनाइन्छ। ती देशहरूमा पनि यस वर्ष एक महिना पछि नै सोनाम ल्होछार मनाइँदैछ।

सरकारले सार्वजनिक बिदा दिएको आजको दिन काठमाडौंको टुँडिखेलसहित देशभर विविध कार्यक्रम आयोजना गरिएको छ। नेपाल तामाङ घेदुङको संयोजनमा गठित ल्होछार मूल समारोह समितिले टुँडिखेलमा आयोजना गर्ने सांस्कृतिक महोत्सवमा प्रधानमन्त्री शुशिला कार्कीको उपस्थिति रहने महासचिव जगतमान दोङले जानकारी दिए।

महोत्सवमा बोम्बो र ताम्बा स्याबा, मौलिक तामाङ झाँकी, घोडाचढी नाचलगायत सांस्कृतिक प्रस्तुति रहनेछ। साथै शिक्षा, निजामती सेवा, खेल, पर्यटन, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा योगदान पुर्‍याउने तामाङ समुदायका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिने कार्यक्रम पनि रहेको घेदुङले जनाएको छ।

Leave a Comment